मातृभूमि जाने योजना बनेको छ राहत लिएर – कमला थापा

  भावना परिष्कृत सुनुवार

महिलाहरुलाई पुरुषसरह हरेक क्षेत्रमा समान अधिकार दिलाउन, महिलामाथि सदियौँदेखि हुँदै आइरहेको विभेद र हिंसालाई सदाको लागि अन्त्य गर्न,राज्य सत्तामा महिलाहरुको पहुँच हुनैपर्छ ।
अध्यक्ष
नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत

महिलाहरुलाई पुरुषसरह हरेक क्षेत्रमा समान अधिकार दिलाउन, महिलामाथि सदियौँदेखि हुँदै आइरहेको विभेद र हिंसालाई सदाको लागि अन्त्य गर्न,राज्य सत्तामा महिलाहरुको पहुँच हुनैपर्छ । यसको निम्ति महिलाहरु शिक्षित हुन जरुरी छ र शिक्षित महिलाहरु जागरुक र चेतनशील हुन्छन् राजनीतिक चेतना र ज्ञान लिन सकेको खण्डमा ।महिलाले आत्मनिर्भर बन्दै, जसको निम्ति महिला स्वयंले हर संघर्ष र चुनौतिको सामना गर्दै जाने हो भने महिला मुक्तिको दैलो खोलिने कुरा असम्भव छैन भन्छिन् कमला थापा । उनी समाज सेवामा समर्पित छिन्, बिद्यार्थी जीवनकालदेखि राजनीतिमा रुचि राख्दै आएकी उनी महिला अधिकारको क्षेत्रमा र संघीयताको बिषयमा गहिरो चाँसो राख्छिन्।गोर्खा आर्मीका साजेंट बाबा जगतबहादुर पुन र माता खैसा पुन मगरको कोखबाट सिंगापुरमा जन्मेकी उनको पुर्खौली घर रुपन्देही बुटवल हो ।हाल बेलायतमा आफ्नो परिवारको साथमा बस्दै आएकी उनी जनमुक्ति मंच बेलायत र मगर महिला संघ बेलायतमा सल्लाहकार छिन्। यसै गरी बिगतमा मगर संघ रुपन्देहीमा सह-सचिव,लुम्बिनी अञ्चल समन्वयको सदस्य,राष्ट्रिय महिला मोर्चाको इकाई अध्यक्ष,जिल्ला अध्यक्ष,केन्द्रीय उपाध्यक्ष आदि जस्तो उच्च ओहदामा नेतृत्व प्रदान गरिसकेकी छिन्। २०५४ सालको स्थानीय निर्वाचनमा बुटवल नगर पालिकाबाट उम्मेदवारी,२०६४ सालको प्रथम संविधान सभा निर्वाचनमा रुपन्देही जिल्ला क्षेत्र नं. ४ बाट प्रत्यक्षतर्फको उम्मेदवार र २०७० सालको दोस्रो संविधानको निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार हुन् उनी। हालमा अन्य विभिन्नसामाजिक र राजनीतिक संघ संस्थाहरुमा आवद्ध हुनुका साथै नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी वर्तमान अध्यक्ष पदमा नेतृत्व सम्भालिरहेकी छिन्। प्रस्तुत छउनै महिला नेतृकमला थापासँग हालै नेपालमा गएको महाविनाशकारी भुकम्प पीडितहरुलाई राहत वितरण गर्ने सम्बन्धी विषयमा भावना परिष्कृत सुनुवारले गरेको संक्षिप्‍त कुराकानी ।

जन्मभूमि नेपालमा गत २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट पीडित भएकाहरुका लागि राहत वितरणबारे नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले कस्तो कदम चालेको छ ?
नेपाल आदिबासी जनजाति महासंघ बेलायत र महिला महासंघ बेलायतको समन्वयमा गत जुन २ तारीखका दिनश्रीप्रसाद लिम्बू (आदिबासी जनजातिका निवर्तमान अध्यक्ष)ले उहाँको कार्यकालमा भुकम्प प्रभावित क्षेत्र साँखुमा स्थलगत भ्रमण गरी पद्मरत्न तुलाधरको नेतृत्वमा रहेको राष्ट्रिय युवा दस्तालाई राहत स्वरुप पाँच लाख रकम बुझाइसक्नुभएको छ । अब अगाडि पनि आदिबासी जनजाति महिला महासंघ र आदिबासी जनजाति महासंघ बेलायतको समन्वयमा भुकम्प पीडितहरुका निम्ति राहतको सिलसिला जारीराख्‍ने निर्णय गरेअनुसार रकम संकलन गर्ने क्रम निरन्तर चलिरहेको छ । बेलायतमा रहेका बिभिन्न जातीय संघ संस्था र व्यक्तिहरुबाट पनि राहत रकम प्राप्त भइरहेको छ । केही जिन्सी सामानहरु पनि संकलन हुँदै छ र मेरो आफ्नो व्यक्तिगत पहलमा पनि सक्दो आवश्यक भौतिक सामानहरु जुटाउनेतर्फ समय निकालिरहेकी छु ।

यो पटक कुन माध्यमबाट राहत वितरण गर्दै हुनुहुन्छ त ?
नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतबाट भुकम्प पीडितहरुको निम्ति राहत टोली नेपाल जाने योजनामा छ र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ नेपालसँग सहकार्य गर्दै भुकम्प प्रभावित क्षेत्रमा पुगी राहत बाँडिने छ ।सोही अवसरमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघलाई पनि राहत स्वरुप केही रकम बुझाउने निर्णय भएको छ । अबको केही समयपछि मातृभूमि जाने निर्णय भएको छ राहत लिएर ।

राहत वितरणमा कस्तो वर्ग र क्षेत्रलाई लक्षित गर्नुभएको छ ?
दलित, उत्पीडित वर्ग,एकल महिलाहरु, वृद्धा, विधवा, टुहुरा बालबालिका र विपन्‍न वर्गका सुत्केरी महिलाहरुलाई हामीले राहतमा लक्षित गर्नेछौँ। जहाँ बढी भूकम्प प्रभावित क्षेत्र छ,जुन ठाउँमा राहत प्रभावकारी ढंगले पुग्न सकेको छैन ती क्षेत्रहरुमा पुगी स्थलगत भ्रमण गरेर असली पीडितहरुको पहिचान गरी राहत बाँडिने छ । दूरदराजतिर अनकन्टार गाउँ बस्तीमा भुकम्प राहत हात्तीको देखाउने दाँत जस्तो मात्र भएको खवरहरु सम्प्रेषण भइरहेको अवस्था छ । बोल्ने र पहुँचवालाहरुमाझ राहत सहज भएको होला अवश्य पनि तर गरीब निमुखाहरुका लागि राहतको नाम आहत बनेको छ । सरकार समर्प्रित भएर पीडितहरुप्रति आफ्नो जिम्मेवारी निभाउँदै,प्रभावित सबै क्षेत्रमा समानरुपले छिटो छरितो सहज ढंगबाट राहत प्रभावकारीरुपमा बाँड्नुपर्नेमा केन्द्रित हुनुपर्ने थियो । उल्टै व्यक्तिगत र संस्थागतरुपबाट राहत बाँढ्नेहरुलाई पनि निरुत्साहित गरेको र राज्यकोषमा मात्र राहत जम्मा गर्ने निर्देशन आएको कुराले पीडितहरुमाथि न्याय हुन नसकेको अनुमान सहजै लाउन सकिन्छ । भूकम्पको विपत्ति यथावत रहेकै संकटकालीन अवस्थामा अन्य प्राकृतिक प्रकोपहरु थपिएर मुलुक आक्रान्त र विक्षिप्तभएकोलेयतिखेर देशलाई तपाईँ हामी सबै नेपाली जनताको भावनात्मक र एकताको,शक्तिको,सहयोगको नितान्त जरुरी छ ।

तर राहतको पहिलो चरण त पूरा भइसकेको घोषणा भएको छ र हाल पुननिर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बिषयमा जोड दिइएको अवस्था छ नि ।
खडेरीमा पनि समानरुपमा बगैँचाको हरेक बोट बिरुवालाई मालीले पानी लाउँदा र केही छानेर बोट बिरुवामा मलजल लगाउँदाको परिणाम उस्तै हुन सक्दैन । मालीले पानी लगायो फूलमा यो देखिने पक्ष भयो तर पानी कहाँ र कसरी लगायो यो त बिरुवाले भोग्ने कारुणिक पक्ष हो । आखिर मालीले पानी त लगाएको हो नि हैन र ? त्यसकारण पीडितहरु सबैको घाउमा मलमपट्टि भयो भनेर ढुक्कहुने अवस्था छैन । कुनाकाप्चामा विपन्न वर्गकाहरु,उत्पीडित,दलितहरु अझै राहत नपाएर कन्तबिजोगमा परेका छन् । तिनका आवाज र अनुहार कहाँ सार्वजनिक हुन्छन् र ।शक्ति र सत्ताको जाँतोमुनि पिसिएर विलीन हुनु उनीहरुको नियति बनेको छ । केही मात्रामा भए पनि तीविपन्न वर्गका पीडितमाझ हामी पुग्ने पहल गर्नेछौँ जसरी अन्य सामाजिक संघ संस्था र मनकारी व्यक्तिहरुले पहल गरे । यो विनाशकारी भूकम्पले मानवीय र भौतिक क्षति नराम्रोसँग गरेर गयो । साथमा एउटा सकारात्मक छाप पनि छाडेको छ । यतिखेर राजनीतिक नेताहरु एक हुने नाटक गरी आफ्नो दुनो सोझ्याउने,सोझा जनताहरुलाई अल्मलाउने प्रपञ्च रचे पनि सहीरुपमा जनताहरु आत्मादेखि एक भएका छन् । आत्मिक र भावनात्मक रुपमा जुटेर,शोकलाई शक्ति र ऊर्जामा बदलेर एकको आँसु अर्कोले पुछेका छन् । एक मुटु एक ज्यान भएर दुःखको भवसागर पार गर्ने कोशिशमा जुटेका छन् ।यति भयानकरुपमा मानवीय र भौतिक संरचनाहरु बिनाश भयो यस्तो विषम परिस्थितिमा पनि नेपाली जनताको आत्मबल त्यो प्राकृतिक प्रकोपले गिराउन सकेन बरु बढाउन सिकाएको महसुस हुन्छ । अनि राहतजस्तो कुरा वितरण गर्नको लागि भुकम्प पीडितसँगसँगै बाढी र पहिरोजस्ता अन्य प्राकृतिक प्रकोपमाथि पनि ध्यान जान जरुरी छ ।

राहत संकलन कहिलेसम्म जारीराख्‍ने विचार लिनुभएको छ ?
हाम्रो मातृभुमि प्राकृतिक महाप्रलयले मुर्छित भएको छ, क्षत-विक्षत भएको छ । यो महासङ्कटको घडीमा हामी नेपालीहरु जहाँ छौँ,जुन मुलुकमा भए पनि एकजुट भएर आर्थिक,भौतिक,नैतिक वौद्धिकरुपमा लाग्नुपर्छ । कहिले र कति समयसम्म राहत संकलन गर्ने यो विचार नलिएर दुःखेको जन्म भूमिलाई मलम लगाउन सहयोगी हातहरु निरन्तर चलिरहनुपर्छ । नेआजममसं (नेपाल आदिवासी जनजाति महिला महासंघ) बेलायत राहत संकलनमा निरन्तर लागि नै रहने छ । अरु सबैमा पनि भुकम्प पीडितहरुलाई राहत संकलनको निम्ति हार्दिक अपिल गरिरहने छ ।

अरु देशमा रहेको महिला महासंघसँग पनि समन्वय गर्नुभएको छ कि ?
हाल नेपालबाहिर जम्मा २ वटा देश अमेरिका र बेलायतमा नेआजममसं स्थापना भएको छ । अमेरिका महिला महासंघकी अध्यक्ष संगिनी राना जीसँग मेरो राहतको बिषयमा सरसल्लाह भइरहेको छ । हामीले समन्वय गर्दै नै अगाडि बढ्ने छौँ। राष्ट्रिय नेआजममस नेपालबाट पनि बेलायत महिला महासंघलाई राहत बिषयमा पत्राचार भएको छ र पत्र आउनु अगाडि बैशाख १२ गते भुकम्प गएको भोलिपल्ट नै महिला महासंघ बेलायतले आकस्मिक बैठक बसी राहत संकलन गर्ने बारेमा निर्णय पारित गरिसकेको थियो ।

नेपाल आदिबासी महिला महासंघ बेलायतबारे छोटोमा बताइदिनुहोस् न ।
बेलायतमा हाल नेपालभित्रका बिभिन्न आदिबासी जनजाति महिलाहरु बसोबास गरिरहेका छन् ।ती सबै फरक भाषा,धर्म,संस्कृतिहरुको संरक्षण गर्न महिला महासंघमार्फत एक्यवद्धता गराउँदै एकै धरातलमा मौलाउने वातावरण तयार गर्नु हो भने आदिबासी जनजातिहरुको पृथक पहिचान स्थापित गर्ने दिशानिर्देश प्रदान गर्नु हो । यसको साथसाथै बेलायतमा रहेको आदिबासी जनजाति महासंघसँग सहकार्य गर्दै,राष्ट्रिय नेपाल आदिबासी जनजाति महिला महासंघ नेपालसँग एक्यवद्धता जनाउँदै अघाडि बढ्नु हो । आदिबासी महिला महासंघ राजनीतिक संघ हैन र अन्य सामाजिक संघ संस्थाजस्तै पूर्ण सामाजिक संघ पनि हैन । यो त मानव अधिकारसँग जोडिएको अलग पृष्ठभूमि भएको महासंघ हो ।

 बेलायतमा आदिबासी जनजाति नेपाली महिलाहरुको स्थिति कस्तो रहेको पाउनुभएको छ ?
बेलायतभित्र बसोबास गरिरहेका आदिबासी महिलाहरुलाई झनै बढी चुनौती छ । एकातिर आफ्नो सामाजिक संरचनाको मर्यादाको कुरा छ, आफ्नो धर्म संस्कारलाई जगेर्ना गर्दै कर्मभूमिको नियम कानुनलाई पालना गर्नु,रोजगारीमा जोतिनुपर्ने अवस्था छ भने अर्कोतर्फघरपरिवार, लालाबाला स्याहार्दैसामाजिक संघ संगठन आदिमा सहभागी हुनु पक्कै नै असहज त छ नै । यी सबै चुनौतीहरुलाई सन्तुलनका साथ अवसरको रुपमा लिँदै संघर्ष गरिरहेका छन् । संघर्ष आफैँमा जीवनको सबैभन्दा ठूलो विश्व विद्यालय हो भन्छन् जहाँ मान्छे झुप्रोमा रापिन्छ,आरनले रेतिन्छ र अन्तमा धारिलो र चम्किलो हतियार समान तयार हुन्छ । संघर्ष कठिन छ र यही कठिन परिस्थितिसँग जुद्धै आफूलाई खारिरहेका छन्,आत्मनिर्भर बन्न सफल छन् र आत्मनिर्णय पनि गर्न सक्षम हुनेछन् अबको दिनमा आदिबासी जनजाति महिलाहरु ।

अन्तमा केही थप भनाइ जोड्न चाहनुहुन्छ ?
बिभिन्न मुलुकहरुबाट भुकम्प पीडितहरुको निम्ति राज्यमा राहत रकम र जिन्सी मनग्य भित्रिएको छ । त्यो राहत राज्यबाट पारदर्शीरुपमा वितरण नभएको जनगुनासोहरु बिष्फोट भएको अवस्था छ । प्रभावित क्षेत्रमा पीडित जनता सबैमाझ राहत पुग्न सकेको छैन । राहतमा अपारदर्शिता छ, भ्रष्टाचारको सम्भावना पनि उत्तिकै छ । यो बिषयमा जनता चनाखो हुनैपर्छ र सम्बन्धित निकायको ध्यान केन्द्रित गराउनुपर्छ । राहतमा भ्रष्टाचार गर्नेलाई अहिलेसम्म कानुनमा नभएको भए पनि थपेर कडाभन्दा कडा दण्ड सजाय दिलाउनुपर्छ । राहतमा चुहावट नहोस् भनेर अनुगमन टोलीले शख्त सक्रियता बढाउनुपर्छ । जनताले पनि सचेतना अपनाउनुपर्छ,कडा निगरानी लाउनुपर्छ । सरकार केन्द्रमा मात्र सीमित भएको कारण उद्दार र राहतको प्रक्रिया व्यवस्थापन पक्षमा प्रभावकारी भूमिका खेल्ने पक्षमा मुस्किल व्यहोरेको हो । कतिपय ठाउँमा समयभित्र उद्दार टोली पुग्न नसक्दा कैयौँवाँच्ने सम्भावित नागरिकले कष्टपूर्वक अकाल मृत्यु वरण गर्नुपरेको कटु यथार्थलाई कसले सक्दो हो छातीमा हात राखेर नकार्न ? केन्द्रको मुख ताकेर बस्दाको पीडाबाट मुक्ति पाउने जुक्ति अब सबै नेपाली जनताले गम्भीरतापूर्वक सोच्न ढिलाई गर्नुहुन्न ।यतिखेर यस्तो दु:खद महाविपतको फाइदा उठाउँदै प्रमुख चार दलले पहिचानका पाँच र सामार्थ्यका चार आधारमा ८ प्रदेश बनाउने सहमति गरेको छ । प्रदेशको नामाङ्कन प्रदेश सभाको दुई तिहाई बहुमतबाट टुंगो लगाउने र सिमांकनका लागि एक संघीय आयोग बनाउने सहमति चार दलहरुबीच भएको छ । यसरी यी चार दलले महाविपतको बेला नेपाली जनताप्रति कुठाराघात राजनीतिक कुटिल चाल खेलेर लिएको संविधानले देशमा शान्ति वहाली हैनकि बल्कि द्वन्द्व निम्त्याउन सक्ने प्रवल सम्भावना छ । जनताको ध्यान एकातिर केन्द्रित भएको अवस्थाको फाइदा उठाएर बनाएको कथित संविधान कागजको खोस्टो, लेनदेन मुद्दाको जाली तमसुक बराबरी हुने निश्चित छ । जुन संविधानभित्र दलित, आदिबासी जनजाति,उत्पीडित,महिला,मधेशी,मुश्लिम,उपेक्षित वर्गको हकहित र अधिकार सुनिश्चित गरिएको हुँदैन भने राज्यमा सबै नागरिकले समान साझा अस्तित्वको प्रत्याभूति गर्न पाउँदैन भने यो प्राकृतिक प्रलय भन्दा नि अकल्पनीय भीषण मानवीय प्रलय उर्लन कत्ति पनि बेर लाग्ने छैन । यसतर्फ सचेत भएर कदम चाल्नु उपयुक्त हुनेछ । अन्तमा पाँच/पाँच सय पाउण्ड राहत रकम सहयोग गरी नेआजममस बेलायतलाई साथ र समर्थन गर्ने दुरा समाज बेलायत र बेलायत छन्त्याल संघलाई बिशेष धन्यवाद । साथै अन्य दानवीर थुप्रै शुभचिन्तक तथा सहयोगी महानुभावहरुलाई म आफ्नो व्यक्तिगत र आदिबासी जनजाति महिला महासंघ बेलायतको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार