समसामयिक कवि

इन्द्र थेगिम

ओ कवि !
भावनामा हराउनलाई,
रुख, पात, लहरा झुलिरहेछ्न्
कविता मिलेको लेख्नलाई
गद्य, पद्य, छन्दहरू लहरमा छन्
गहन र भाष्ट भावना समेट्नलाई
नेपाली बाहेक लाखौं बिदेशी किताबहरू छन्
दाम छाडेर मात्र ‘नाम’ कमाउनलाई
रातारात किताब छापिने छापाखानाहरू छन्,

के पुगेन तिमीलाई ?
सामाजिक मुद्दा बनाउदा
तिम्रो आफ्नै घरको उदाहरण साक्षी छ
राजनैतिक उथल पुथल चर्किरहंदा
मधेसी, पहाडी पहिचानसंगै जनजाति छ
ब्यक्तिगत अनुभवलाई समेट्दा
दुस्ख कस्ट आफ्नै जिन्दगीमा लामो तांती छ
मायालु र सौर्न्दर्य भाब पस्किदा
बजार भरि कृतिम बस्तुहरू सुपथ मुल्यमा थांती छ,

ट्वां परेर कसलाई हेरिबस्छौ ?
ओ कवि ! के पुगेन तिमिलाई ?
आफुले टेकेको जमिनलाई महशुस गर
कविता भित्र कवि हराउ
या
कवि भित्र कवितालाई हराउ
बश-
स्वत: पोखिने भावहरू
आक्रोश र बिचल्लित मनहरू
कुन्ठित र तिरस्कृत आत्माहरू
तृष्णा र बितृष्णाहरू
जीवन र भोगाईहरू
सौर्न्दर्य र रोमान्सहरू
योवन र चाहनाहरू
स्वतन्त्र र बिकृतीहरू,

लेख्दै जाउ
लेख्दै जाउ
यो युगको तिमी
जिउँदो जाग्दो कवि बन्नेछौ।

(बिश्व कविता दिवश २०१७)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार