१० जहाज थपिए, दसैंमा टिकटको अभाव उस्तै !

काठमाडौं । गत वर्ष असोजको तुलनामा यसपालि नेपालमा १० वटा हवाइजहाज थपिएका छन्. । विमान थपिएपछि सीट र उडान संख्या पनि ह्वात्तै बढेको छ । तर, दसैंका लागि खुलेको हवाइ टिकटको भने हाहाकार हुन थालिसकेको छ ।

विमान बढेसँगै उडान संख्या बढ्ने नै भयो । यो वर्ष देशमा १० वटा बिमान थपिएका छन् । देशका बिभिन्न भागमा उडान भर्ने यस्ता जहाज थपिँदा ३७० को हाराहारीमा सीट पनि थपिएका छन् । गत वर्षभन्दा यो वर्ष धेरै कम्पनीको एकै स्थानमा ४ पटकसम्म उडान थपिएको छ ।

विमान थप भएसँगै उडान संख्या बढे पनि दसैंको मुखमा सहजरुपमा टिकट पाइनुपर्ने हो । तर, त्यस्तो हुन सकेको छैन । अधिकांश विमान कम्पनीका तराई क्षेत्रका सबै टिकट बुकिङ भइसकेका छन् ।

यती एयरमा ७२ सीटे जहाज थपियो

गत वर्षको दसैंसम्म यती एयरलाइन्सले भरतपुर दैनिक एकपटक मात्रै उडान भर्दथ्यो । यसपालि दैनिक ५ पटकसम्म उडान भर्ने गरेको यती एयरलाइन्सका प्रबन्धक तथा प्रवक्ता भीमराज राई बताउँछन् ।

यतीले यो वर्ष ७२ सीटको नयाँ जहाज थपेको छ । गत वर्ष सञ्चालनमा रहेको नाइन एन एआइबी अहिले सञ्चालनमा छैन । जसका कारण गत वर्षभन्दा यतीसँग ४२ सीट मात्रै बढेको छ ।

यतीको यसपालि गत वर्ष भन्दा ८ पटक उडान बढेको छ । तर, यात्रुको चापमा कुनै कमी आएको छैन ।

प्रवक्ता राईले भने ‘नारायणगढ मुग्लिन सडक खण्डको बाटो बिग्रिँदा भरतपुर जाने यात्रु मात्रै होइन, सवारीमार्फत यो सडक खण्ड भएर जाने सबैजसो क्षेत्रमा यात्रु बढेका छन् ।’

यती एयरलाइन्सको दसैंको टिकट बुकिङ अहिलेसम्ममा ८० प्रतिशत सकिएको छ । तर, गत वर्षको दशंैअघि यही समयमा यति छिटो बुकिङ नभएको राई बताउँछन् ।

बुद्ध एयरमा पनि ७२ सीटे जहाज थप

त्यस्तै बुद्ध एयरले पनि यस वर्ष नयाँ बिमान एटीआर ल्याएको छ । ७२ सिटको बिमान थपिए पनि यात्रुको चापमा भने कुनै कमी आएको छैन । बरु, गत वर्षभन्दा बढी यात्रुको चाप रहेको बुद्ध एयरकी मार्केटिङ म्यानेजर बिनीता थापा बताउँछिन् ।

गत वर्षको दसैंसम्म बुद्धले सिमरा दैनिक ५ पटक मात्रै उडान भर्दथ्यो । यसपालि १२ पटकसम्म उडान भर्ने गरेको छ । त्यस्तै भरतपुमा पनि यसले गत वर्षको तुलनामा ३ पटक थपेर १२ पटकसम्म उडान भर्ने गरेको थापा बताउँछिन् ।

भैरहवामा पनि यस वर्ष यात्रुको चाप बढेको छ । गत वर्ष २ पटक मात्रै उडान भर्ने यो बिमान कम्पनीले यसपालि ५ पटक उडान गर्न लागेको छ ।

पोखरामा पनि बुद्धले दुई पटक उडान थपेको छ भने धनगढीमा एउटा उडान थपेको छ । बिराटनगरमा भने गत वर्ष जस्तै दैनिक ७ पटक उडान भरिरहेको छ ।

बिमान बढेको छ, तर बिमान कम्पनीको भाडा भने बढेको छैन । जसका कारण पनि बिमानमा यात्रु बढेको थापाको तर्क छ । उनले भनिन् ‘मुख्यतः बाटोको समस्याका कारण नै हवाईयात्रु बढेका हुन्, बिमानको भाडा पनि स्थिर रहेको छ, जसले पनि यात्रुलाई सडक यातायात भन्दा बिमानमा आकर्षण बढाएको हो ।’

थापाका अनुसार दसैंका लागि बुद्ध एयरको अधिकांश टिकट बुकिङ भइसकेको छ । भैरहवा, भरतपुर र पोखराजस्ता क्षेत्रमा सबैभन्दा बढी बुकिङ छ । र, यस्ता क्षेत्रको टिकट सम्पूर्णजसो बुकिङ भएको उनले जानकारी दिइन् ।

त्यस्तै बिराटनगर र धनगढीमा पनि यात्रुको चाप उत्तिकै रहेको छ । जसले गर्दा यी स्थानको पनि टिकट पाउनै मुस्किल हुन लागेको उनले बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार