न्यूयोर्ककी बैंकरको ‘ढुकढुकीमा सुन्दरीजल’ सार्वजनिक

११ सेप्सेम्बर, न्यूयोर्क । बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लक्ष्मी श्रेष्ठ पहिलो कविता संग्रहका साथ आइतबार न्यूयोर्कमा प्रस्तुत भएकी छन् ।

जन्मस्थान काठमाडौंको सुन्दरीजलमा केन्द्रित रहेर लेखिएको कविता संग्रह ‘ढुकढुकीमा सुन्दरीजल’ लिएर ४३ वर्षे श्रेष्ठ न्यूयोर्कमा झुल्किएकी हुन् ।

उनको उक्त कविता संग्रह एक समारोहबीच लोकार्पण गरिएको छ ।

सुरुदेखि नै साहित्यमा रुचि राख्ने ४३ वर्षे श्रेष्ठले नेपालमा हुँदानै कविता संग्रह निकाल्ने सोच बनाएकी थिइन् । तर, पारिवारिक व्यस्तताका कारण उनको चाहना पूरा भएको थिएन । अहिले उनले अमेरिका अाएर अाफ्नो पुरानो रहर पूरा गरेकी छन् । ‘अहिले त मेरो छोराछोरी ठूला भइसके, उनले भनिन्, ‘अहिले त मलाई सहज छ ।’

१७ वर्षे छोरी मिली श्रेष्ठ र १३ वर्षे छोरा अनुज श्रेष्ठले आमाको साहित्यिक पाटो देखेर खुशी प्रकट गरे ।

८५ वटा कविता संग्रहित रहेको पुस्तकबारे नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनी, उपवाणिज्यदूत पुष्पराज भट्टराई, वाणिज्यदूत कृसु क्षेत्रीलगायतले आफ्नो विचार राखेका थिए । साहित्यकार नदियालिवा र कलाकार संगीत उप्रतीले श्रेष्ठका दुई कविता वाचन गरेका थिए ।

विगत ११ वर्षदेखि न्यूयोर्ककी स्थायीबासिन्दा रहेकी श्रेष्ठले नेपालमा झन्डै ११ वर्ष नेपाल बंगालदेश बैंकमा काम गरेकी थिइन् । उनी हाल न्यूयोर्कको जे.पी. मोर्गन चेज बैंकमा कार्यरत छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार