अस्तित्वको लडाई

नरेश ठूले

कालो रातको सुयोग जुर्याएर
कालो मार्ग हुँदै
अतिबादको कालो मूर्दा बोकेर
त्यसका यम पन्चक मलामीहरू झर्दैछन
तिम्रा सुन्दर शान्ति बस्तिहरूमा
र, उर्दि फर्मान गरिरहेछ
अब तिमीहरूले आज्ञा पालन गर्नु पर्छ,

चोक र गौंडाहरूमा
यमदूत र त्यसका क्रुर दुष्ट सिपाईहरूले
अब ज्यादतीका चिरपट थोपरेर
नर संहार हुनेछ
मानब बधसालाहरूमा
त्यसको तिमीले डटेर सामना गर्नु
लाठि बुट सामान्य हुन सम्झिनु
गोली बारूद र बम बर्षिने छन
तिम्रा सडक र धुरिहरूमा
तिम्रो सारा अस्तित्व बिनाश गर्न
तिम्रो पहिचान मेटाउन
तिमीलाई तिम्रो माटोको सुगन्धबाट बिमुख गराउन
ऊ उद्त छ कि त
बिभेतकारी निति बोकेर
ऊ युद्ध मैदानमा ओर्ली सकेको छ
जो प्रत्येक खोकाबाट निस्कने गोलीले
तिम्रो खोपडी उडाउन
तिम्रो बस्तिमा ऊ पसि सकेको छ,

ए पहाडिया मान्छे
तिमीले कुरा बुझ्नु
तिम्रो बिभक्तताको गोरेटोहरू पच्छ्याउदै
निरिहताको कमजोरी ठमाउदै
कुटिलको कालो जालो बिछ्याउदै
तिमी माथि बज्र प्रहार भयो
तिमी माथि घोर अन्याय भयो
तिमी माथि घोर अत्यचार भयो
यो प्रहारबाट
अब तिमीमा अथाह शक्ति भर्नुछ
यो प्रहारबाट तिमीले गोलबद्ध हुनुछ
र, आफ्नो अस्तित्वको लागि
आफ्नो माटोको लागि
आफ्नो रगतको लागि
आफ्नो अस्तित्वको लागि तिमीले
उठ्नु छ
जुट्नु छ
लड्नु छ
बलिदान दिनुछ,

ओ ईतिहास जित्ने मान्छेहरू !
आफू हारेर अरूलाई बचाउने
आफू धितो बसेर अर्कालाई उकास्ने
ईमान्दार मूर्ख मान्छेहरू
कति लड्नु अरूका लागि ?
अब समयले बिस्कुन सुकाएको छ तिम्रो आगनमा
अब तिमीले नजर अन्दाज गरेर भूल नगर्नु,

यो अक्षम्य बैरभावले
तिमीमाथि थोपरिएको युद्ध लड्न
तिमीमाथि तेर्सिएको बन्दुकको गोली छल्न
यो दुश्चक्रब्युहुबाट मुक्ति दिलाउन
संगिन समयलाई छल्न
कुनै सेनिमाको अदभुत हिरो आउने छैनन
कुनै मन्दिरबाट देबी देबताहरू प्रकट हुने छैनन
तिमीले बुझ्नु
अब तिमीले आफ्नो अपनत्वोको लागि
आफ्नो अश्तित्व र माटोको लागि
आफ्नो ईतिहास जिवित राख्नको लागि
यो अन्तिम युद्ध
लड्नु छ तिमीले
रगत दिनु छ
बलिदानी दिनुछ
किन की
तिमी बीर योद्धा हौ
नायक, महा नायक हौ
लडाकु हौ
युद्धका सारथी हौ,

अब ब्यूझ, जाग !
उठ- दार्जिलींग
उठ- कालेबुङ
उठ- डुबर्स
उठ- मिरिक
उठ- खर्साङ
उठ- हरेक तह र तप्का
मुक्ती र स्वयत्तको लागि
लक्ष्य प्राप्तिका लागि
समयले ग्रीन सिग्नल बालिरहेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार