एन्टिबायोटिक बिरुद्ध सचेतना

काठमाडौ, मङ्सिर २ गते । मानिस तथा पशुपन्छीको उपचारमा प्रयोग हुदैआएको ‘एण्टिमाइक्रोबियल’ उपचार विधिप्रति सचेतना जगाउन राजधानीमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । ‘एण्टिबायोटिक्स उपचारः पुनर्विचार’ नारासहित मनाइएको कार्यक्रममा शनिबार सचेतना र्‍याली आयोजना गरिएको छ ।

‘एण्टिमाइक्रोबियल रेसिस्टेन्स’ को क्रमिक वृद्धिले पशु र मानव स्वास्थ्यका साथै वातावरणीय रुपमा गम्भीर असर पारिरहेकोले सोको प्रयोगप्रति जनचेतना आवश्यक रहेको बताइन्छ । सन् १९४० को दशकबाट विकास भएको ‘एण्टिबायोटिक’ ले मानव तथा पशु स्वास्थ्यमा गम्भीर समस्या निम्ताइसकेको छ । मानिस तथा पशुपन्छीमा ‘एण्टिमाइक्रोबियल’ को अल्पउपयोग, अतिउपयोग तथा दुरुपयोगले गर्दा ब्याक्टेरिया, प्यारासाइट, भाइरस र फंगस लगायतमा ‘एण्टिमाइक्रोबियल’ प्रतिरोधात्मक क्षमता वृद्धि हुदै गएको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएका छन् ।

विश्वव्यापीकरणसगै मानिसको आवतजावत तथा पशुपन्छी र खाद्य पदार्थको ओसारपसारले एक स्थानमा देखापरेको एण्टिमाइक्रोबियल रेसिस्टेन्स छोटो समयमा नै विश्वका अधिकांश मुलुकमा फैलदा यो समस्यामा विश्वकै चासो बढेको हो । बारम्बार एण्टिमाइक्रोबियलको प्रयोग हुने मानिस तथा पशुपन्छीका युरिनरी ट्रयाक्ट इन्फेक्सन, निमोनिया, रगतका संक्रमण लगायतका साधारण संक्रमणहरुमा ‘एण्टिमाइक्रोबियल रेसिस्टेन्स’ को दर बढी उच्च प्रतिरोधात्मक क्षमता भएका ‘सुपरबग’ को उत्पत्ति भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यही दरमा प्रतिरोध बढेमा सन् २०५० सम्ममा प्रति वर्ष १ करोड मानिस यसको कारणले मर्ने छन् । यसका साथै, उपचार प्रभावकारी नहुने र अर्थतन्त्रमा गम्भीर असर पर्ने समेत देखिन्छ ।

संयुक्त राष्ट्र संघ (युएनओ) को ७१ औं महासभाबाट राष्ट्र संघका सदस्य राष्ट्रहरुले एण्टिमाइक्रोबियल रेसिस्टेन्स विरुद्ध सामूहिक प्रयास गर्ने प्रतिवद्धता जनाएअनुरुप विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), विश्व पशु स्वास्थ्य संगठन (ओआईई) को त्रिपक्षीय सहमति बमोजिम सन् २०१७ नोभेम्बर १३ देखि १९ लाई ‘विश्व एण्टिबायोटिक्स सचेतना सप्ताह’ को रुपमा मनाउने निर्णय भएको हो ।

स्वास्थ्यकर्मीको सल्लाह अनुसार उचित मात्रामा तोकिएको अवधिसम्म एण्टिबायोटिक्सको प्रयोग गर्नु पर्ने विज्ञहरु बताउछन् । आफुखुशी मानिस तथा पशुपन्छीमा एण्टिबायोटिक्सको प्रयोग गर्ने, प्रयोग भई बााकी रहेका एण्टिबायोटिक्स जथाभावी फाल्ने कार्यबाट वातावरणमा रहेका ब्याक्टेरियाले समेत एण्टिबायोटिक्स विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गरी जटिल समस्या सिर्जना हुने सम्भावना रहेको बताइन्छ ।
स्वास्थ्य मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, वन तथा भू-संरक्षण मन्त्रालय र कृषि विकास मन्त्रालयले संयुक्त रुपमा ‘एण्टिबायोटिक’ को प्रयोग सम्बन्धी जनचेतना जगाउन पहल थालेका हुन् ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार