आज ३२ जिल्लामा पहिलो चरणको मतदान हुदै

  बगैँचा सम्वाददाता

काठमाडौँ

निर्वाचन आयोगले पहिलो चरणमा आज आइतबार मंसिर ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म निवाचन गर्न सकिने छ । हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिदै आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गरे। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ भने आइतबार सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ।मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ।सो क्रममा आयोगले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ। आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्नुहुने मतदाताले मात्रै मतदान गर्न पाउनु हुनेहुँदा सबै मतदातालाई मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आयोगले अनुरोध गरेको हो।
प्रमुख निर्वाचन आयुक्त डा यादवले अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन भइसकेको जानकारी दिए। दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैँ मतसंकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्नसक्ने व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाइ तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ। समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र १ मा तथा प्रदेशसभाका लागि मतपत्र २ भएका चिह्नमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्नेछ। निर्वाचनको संवेदनशीलतालाई मनन गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्पे्रषण आयोगले सम्पूर्ण सञ्चारमाध्यमसँग आग्रह गरेको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको यो निर्वाचनबाट संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन हुने र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ भई राज्यको पुनःसंरचना हुन गई विद्यमान संक्रमणकालको अन्त्य हुनेछ निर्वाचनपछि मुलुकमा दिगो आर्थिक विकास हुने र देश समृद्धितर्फ लम्कने विश्वास गरिएको आयोगले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार