अवरोध छिचोल्दै मतदाता उत्साहपूर्वक लाममा

  बगैचा सम्बाददाता

बम आक्रमणको त्रास र चिसो मौसमले कतै चुनावमा असर गर्ने त होइन भन्ने धेरैको आशंका थियो । तर, यी सबै आशंकालाई चिर्दै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेका छन् । अहिले बिहान ७ बजेदेखि शुरु पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरु त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागेका छन् । छिटफुट घटना बाहेक देशभर अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको छ । खोटाङको साकेला १ च्यानडाँडामा बिहान साढे सात बजेतिर मतदान केन्द्रभन्दा करिब ३० मिटर टाढा बम विष्फोट भएको छ। तर कुनै क्षति नभएको त्यहाँबाट पत्रकार टेनिस रोकाले जानकारी दिए । यसैगरी, रोल्पाको सुकिदह गाउँपालिका ३ हिलेचौरको विरेन्द्र मावि मतदान स्थलभन्दा करिब पाँच सय मिटर टाढा बम विष्फोट भएको छ । रोल्पाकै कोर्चावाङ, थवाङ लगायतका स्थानमा पनि गएरातिदेखि नै बम विष्फोट भएका छन् । मतदातालाई त्रसित बनाउने उद्देश्यले बम पड्काइए पनि निर्वाचन कुनै असर नगरेको र मतदाताहरु मतदानस्थलमा भेला भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चिसो मौसमका बाबजुद पनि मतदाताहरु निकै उत्साहका साथ सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएको जानकारी दिए । प्रदेश नं. १ का ७, प्रदेश नं. ३ का ६, प्रदेश नं. ४ का ६, प्रदेश नं. ५ का २, प्रदेश नं. ६ का ७ र प्रदेश नं. ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार