जाइकाले बेगनास तालमा बिजुली निकाल्न अध्ययन थाल्यो

  बगैचा सम्बाददाता

२८ पुस, काठमाडौं ।

जापानी सहयोग नियोग (जाइका)ले कास्कीको पोखरा-लेखनाथ महानगरस्थित बेगनास तालमा पम्प स्टोरेजको सम्भाव्यता अध्ययन अगाडि बढाएको छ । विद्युत प्राधिकरणले निर्माण गर्न लागेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन जनवरीसम्ममा प्रकाशित गर्ने जाइकाको योजना छ । प्राधिकरणको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो । त्यसबाट राष्ट्रिय प्रसारणमा कति विद्युत पठाउन सकिन्छ भनेर जाइकाले अध्ययन गर्न लागेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीपकुमार थिकेले जानकारी दिए । बेगनास तालको पम्प स्टोरेजको अध्ययन बढाउन जाइकासँग समन्वय गर्ने जिम्मा थिकेले पाएका छन् । पिक आवर’मा करिब चार घण्टा चलाउन प्राधिकरणले उक्त आयोजना निर्माण गर्न लागेको हो । गत कात्तिकमै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणलाई आयोजनाको अध्ययन अनुमति दिएको थियो । अनुमति पाएलगत्तै जाइकाको टोलीले अध्ययन थालेको हो । विद्युतको अत्यधिक माग हुने समयमा बेगनासबाट रुपामा पानी खसाल्ने र अन्य समयमा त्यसलाई बेगनासमै पठाउने प्राधिकरणको योजना छ । प्रक्रिया अगाडि बढेको यो पहिलो पम्प स्टोेेरेज आयोजना हो । आयोजना निर्माण भएमा यसले पिक आवरको विद्युत माग पूरा गर्ने ब्याट्रीका रुपमा काम गर्नेछ । तामाकोशी जलविद्युत आयोजना निर्माणपछि पनि पिक आवरको विद्युत माग पूरा गर्न सकिँदैन । सुख्खा समयमा तामाकोशीबाट एक सय मेगावाट उत्पादन हुँदैन । कुलेखानी ड्याम मात्रै अहिले पिक समयमा चलाउन मिल्ने आयोजना हो । पिकिङ रन अफ दी रिभर’ आयोजना पनि धेरै नभएका कारण अहिले ठूलो परिमाणमा बिजुली आयात गर्नुपरिरहेको छ । जलाशयुक्त आयोजना कागजमै सीमित छन् । त्यसको विकल्पमा पम्प स्टोरेज आयोजना निर्माण गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । बेगनास र रुपा तालबीचको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी विद्युत उत्पादन गरिनेछ । रुपामा खसालिएको पानी पुनः बेगनासमा फर्काइने हुनाले यसले दुवै तालको अहिलेको अवस्था र सौन्दर्यलाई कुनै असर नपर्ने प्राधिकरणको दाबी छ । उक्त आयोजनाबाट उत्पादित बिजुली चार किलोमिटर टाढाको दुई सय २० केभीको लेखनाथ सब-स्टेसनमा जोडिने छ । आयोजनाको लागत १३ करोड डलर अर्थात् करिब १४ अर्ब रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार