वाम गठबन्धनमा भागवण्डा मिल्यो, प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी

१५ माघ, काठमाडौं । एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । तर, उपसभामुख भने माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ । स्रोतका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले पाएको छ । प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई नदिन एमाले नेताहरुले नेतृत्वलाई चर्को दबाव दिएका थिए । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले लिनेछ । एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् । वाम गठबन्धनले प्रदेश सरकारमा बढीमा ११ मन्त्री मात्र बनाउने सहमति गरेको छ । साथै एमाले र माओवादी केन्द्रबीच आफ्नो सरकार बन्ने प्रदेशको मन्त्रिपरिषदमा ७०/३० को भागवण्डा हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार