भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै

नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् । ..........

  बगैचा सम्वाददाता

काठमाडौं

भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नेपालको दुईदिने शुद्ध राजनीतिक भ्रमणमा आउन लागेकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतमा गराउने उद्देश्यसहित आउन लागेकि हुन् । नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका समकक्षी शेरबहादुर देउवासँग एकपटक, एमाले अध्यक्ष ओलीसँग दुई पटक र माओवादी अध्यक्ष दाहालसँग एकपटक टेलिफोनमा कुराकानी गरेका थिए । मोदीले दाहालसँग पनि ओली प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट हुनुपर्ने प्रतिबद्धता मागेका थिए । दाहालले पनि प्रधानमन्त्रीको रुपमा ओलीले भारतबाटै विदेश भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

ओली पहिलोपटक २०७२ साल असोज २४ गते  प्रधानमन्त्री भएपछि नेपाल र भारत सम्बन्ध चिसिएको थियो । २०७२ असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेपछि असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगायो । ओलीले नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने अडान लिए । भारतले ५ महिनापछि नाकाबन्दी खोल्यो । लगत्तै ओलीले प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गरे । त्यसपछि उनले चीन भ्रमण गरी पारवहनलगायत महत्त्वपूर्ण सम्झौता गरे। माओवादी अध्यक्ष दाहाल पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए । उनी बेइजिङ ओलम्पिक समारोहमा सहभागी हुन चीन गएका थिए । दाहालले प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेपछि भारतले असन्तुष्टि जनायो । त्यसपछि दाहालले चीनबाट स्वदेश फर्कंदा आफ्नो औपचारिक पहिलो विदेश भ्रमण भारतबाटै हुने बताए । २०४६ को राजनीतिक परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण भारतबाट नगरी चीनबाट गर्ने दाहाल पहिलो प्रधानमन्त्री हुन्।  भारतीय विदेशमन्त्री स्वराजको राजनीतिक भेटघाट भएकाले भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई पनि सीमित जानकारी मात्र दिइएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत स्वराज भ्रमणको औपचारिक घोषणा गरेका थियो । केही समयअघि  काठमाडौंस्थित भारतीय दूतावासले स्वराजको भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी गराएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार