नेपाल पुलिसलाई उपाधि

२१ माघ २०७४,  पोखरा – आहारारा गोल्डकपको १६औं संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टार फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो । पुलिसलाई जिताउन राम वाजी नायक भए । निर्धारित समयमा कुनै गोल नभएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयअन्तर्गत पहिलोे हाफको इन्जुरी टाइममा वाजीले प्रहार गरेको बलले जाली चुम्यो । उनले गरेको गोल नै निर्णायक बन्यो । आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौं, सातौं र १३औं संस्करणमा एकआपसमा भएको थियो । तेस्रो संस्करणमा पुलिसले थ्री स्टारलाई सेमिफाइनलमा पराजित गरेको थियो भने छैटौं र सातौंमा पुलिसले थ्री स्टारलाई क्वार्टरफाइनलमै पराजित गरेको थियो। नेपाल पुलिस क्लबले आहारारा गोल्डकपको उपाधि पाचौं पटक जितेको छ । १६औं संस्करणको विजेता पुलिसले उपाधिसँगै सात लाख एक हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता थ्री स्टार क्लबले तीन लाख ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुुझायो । आहारारा गोल्डकपको अघिल्ला संस्करणमा चार पटकसम्म उपाधि आफ्नो पोल्टामा पारेको थ्री स्टार फाइनलमा पहिलो पटक पराजित भएको हो। खेलअविधभर नेपाल पुलिस र थ्री स्टारले पाएका थुप्रै अवसर सदुपयोग गर्न सकेनन् । खेलको ८ मिनेटमा रवि पासवानको कर्नर पासलाई अभिशेक रिजालले हेडिङ गर्दा किपरले पन्च गर्दै बचाए । खेलको २३औं मिनेटमा तेज तामाङको पासलाई अभिशेक रिजालले प्रहार गर्दा बल जाली नजिकैबाट बाहिरियो। खेलको ६ मिनेटमा थ्री स्टारका खेलाडी सुनील बलको कर्नर पासलाई अनन्त तामाङले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल फस्टबारबाट बाहिरियो । शनिबार भएको खेलमा नेपाल पुलिसका राम वागी म्यान अफ दी म्याच बने। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘निरन्तर खेलले पनि खेलाडी थाकेका थिए,’ उनले भने, ‘फाइनलमा धेरै अवसर आए पनि त्यसलाई क्याच गर्न सकिएन ।’ नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले सिकाएको टाक्सलाई खेलाडीले न्याय गरेको बताए । ‘खेलमा समय धकेलिनु एउटा स्ट्राटेजी हो,’ उनले भने, ‘सिकाएअनुसार खेलाडीले खेलेको हुँदा उपाधि पाउन सफल भयांै। प्रतियोगितामा नेपाल पुलिसका रवि पासवान सर्वोत्कृष्ट खेलाडी बन्दै हिरो ड्यास स्कुटर पाए । पुलिस क्लबका सुमन लामा र थ्री स्टारका विश्वास श्रेष्ठ सर्वाधिक गोल कर्ता बने । उनीहरूले नगद २५ हजार रुपैयाँ र ट्रफी जिते । सुदूरपश्चिम ११ अनुशासित टिमबाट पुरस्कृत भयो । प्रतियोगिता अवधिभर टिकट काटेर फुटबल हेर्ने दर्शकबाट घाचोकका उज्वल पोख्रेलले हिरो ड्यास स्कुटर र उत्तमचोकका हरिबहादुर कार्कीले एलजी टिभी पाए । विजेता र उपविजेता खेलाडीलाई खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले पुरस्कार वितरण गरे। माघ ९ गतेदेखि चलेको प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता थियो । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको हो । प्रतियोगिताको समापन गर्दै राखेपका सदस्यसचिव केशवबहादुर विष्टले पोखरालाई चिनाउन फेवातालबाहेक आहारारा गोल्डकप काफी भएको आंैल्याए । ‘अब पोखरा भन्ने बित्तिकै फेवाताल मात्र सम्झँदैन्,’ उनले भने, ‘हरेक वर्ष आयोजना भएको आहारारा गोल्डकप पनि सम्झिनेछ ।’ १६औं संस्करणको गोल्डकप भत्केको रंगशालामा भएको हुँदा सदस्यसचिव विष्टले एक र्षभित्र अहिलेसम्मकै ठूलो रंगशाला बन्ने सुनाए।

उत्कृष्ट पाँच विधा

उत्कृष्ट गोलकिपर : शत्रुघ्न चौधरी (पुलिस)
उत्कृष्ट डिफेन्डर : अजित भण्डारी (पुलिस)
उत्कृष्ट मिडफिल्डर : सुनील बल (थ्री स्टार)
उत्कृष्ट स्ट्राइकर : विश्वास श्रेष्ठ (थ्री स्टार)
उत्कृष्ट प्रशिक्षक : अनन्तराज थापा (पुलिस)

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार