राष्ट्रियसभाका ३२ पदका लागि ५२ जना प्रतिस्पर्धामा

प्रदेश २ मा भने सबै निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश १, ३, ४, ५, ६ र ७ प्रदेशमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेकाले बाँकी ३२ पदमा मात्र निर्वाचन हुने छ । ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

  बगैचा सम्वाददाता


काठमाडौं

६ वटा प्रदेशमा आज स्थायी सदन राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । प्रदेश २ मा भने सबै निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश १, ३, ४, ५, ६ र ७ प्रदेशमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५६ सदस्य चयनका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध भइसकेकाले बाँकी ३२ पदमा मात्र निर्वाचन हुने छ । ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले आआफ्नो मतदान केन्द्र पुगेर राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् । संविधानअनुसार एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । ५६ पदमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ पदका लागि निर्वाचन हुन लागेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । आयोगद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शान्तिसुरक्षाको भरपर्दा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरे । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम मतपरिणाम आएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम पनि सार्वजनिक गर्ने बताए । आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा भाग लिन २१ राजनीतिक दलले निवेदन दर्ता गराएकामा १३ वटा दलका ८३ जनाको मात्रै उम्मेदवारी परेको थियो । जसमध्ये ६ जना उम्मेदवारले नाम फिर्ता लिएको, एकजनाको उम्मेदवारी रद्द भएको २४ जना निर्विरोध निर्वाचित भएकाले अब ३२ पदका लागि ५२ जना मैदानमा छन् । आयोगका अनुसार प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएकाले अब एकजना दलित र एकजना अपांगता वा अल्पसंख्यक समुदायबाट गरी २ सदस्यका लागि मतदान हुनेछ । प्रदेश २ मा ८ वटै पदहरु निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ७ पदमा मतदान हुँदैछ । प्रदेश ५ मा ३ महिला सदस्य निर्विरोध निर्वाचित भएकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि मतदान हुनेछ । प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा निर्विरोध निर्वाचित भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुनेछ । आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्य गरी कुल २ हजार ५६ मतदाता छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख गरी १५ सय ६ जना र ५ सय ५० जना प्रदेशसभाका सदस्य छन् । निर्वाचनमा गाउँपालिका नगरपालिकाका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेशभा सदस्यको मतभार ४८ रहने व्यवस्था छ । प्रदेश २ का ८ जना सदस्य निर्विरोध निर्वाचित भइसकेकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ गरी कुल १६ सय ७७ जना मतदाताले बुधबार मतदान गर्नेछन् । राष्ट्रियसभा निर्वाचनमा विगतमा जस्तो स्वस्तिक चिह्नको प्रयोग नहुने आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेशसभाका सदस्यले हरियो रङको मतपत्रबाट र स्थानीय तहका प्रतिनिधिले रातो रङको मतपत्रमा मत संकेत गर्नेछन् । तीन महिला र अन्य ३ सदस्यका लागि एकल संक्रमणीय मतका आधारमा मत संकेत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ । महिला १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्नेछ । राष्ट्रपतिबाट राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भएपछि पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार