कालो धनलाई सेतो नबनाऊ

माघ २६, २०७४ , काठमाडौँ — कुनै पनि देशको आर्थिक विकासको पहिलो सर्त नै भ्रष्टाचार नियन्त्रण गर्नु हो । भ्रष्टाचार नियन्त्रण नगरी सुशासन प्राप्त हुंँदैन । त्यसैले सुशासन प्राप्त गर्न भ्रष्टाचारलाई निर्ममतापूर्वक दबाउनैपर्छ । यस कार्यको लागि कार्यपालिका र न्यायपालिका इमानदार बन्नैपर्छ । यसै सन्दर्भमा कालो धनलाई सेतो धन बनाउनु पनि भ्रष्टाचार नै हो । नेपालका नवधनाढ्य अजेय सुमार्गीले विदेशबाट ल्याएको अर्बौंको सम्पत्तिको सही स्रोत नखुलेको र उक्त रकम नेपालबाट नै बाहिर पठाइएको शंका गरिएको छ । अब त्यही रकम फेरि नेपाल ल्याएर त्यसलाई सेतो धन बनाउने प्रयासलाई राष्ट्र बैंकले रोक्का गरेको थियो । केही दिन अघिमात्र सर्वोच्च अदालतका एकजना न्यायाधीशको एकल निर्णयले त्यो रकम चलाउन मिल्ने भनी आदेश दिएको छ । यसले सामाजिक सञ्जालमा तरङ्ग पैदा गराएको छ । न्यायाधीशले कानुनका बिभिन्न दफा समातेर उक्त रकमलाई वैध बनाउने प्रयास गरे पनि यो निर्णयले समाजमा ब्याप्त भ्रष्टाचारलाई प्रोत्साहन गरेको छ । यस अघि अर्बौंको करमिनाहा गर्ने चूडामणि शर्मालाई पनि केही धरौटी रकम लिएर तारिखमा छोडिएको थियो । देशमा एउटा सरकार गएर अर्को नयाँ निर्वाचित सरकारबन्ने क्रममा छ । यही बेला ठूलठूला घटनाहरू जुन भ्रष्टाचारसँंग सम्बन्धित छन्, तिनीहरूको तथ्य पत्ता लगाउन राम्रोसंँग छानबिन गरेर कारबाही अघि बढाउनुपर्नेमा सर्वोच्चोले हतारमा निर्णय गरी शंकास्पद व्यक्तिलाई लाभ पुर्‍याउने कार्य गर्नु अनुचित छ । यसमा पैसाको ठूलो चलखेल हुनसक्छ । अख्तियारले न्यायाधीशहरूलाई भ्रष्टाचारमा कारबाही गर्न सक्तैन । कमसेकम नयाँ सरकारले यस्ता ठूला घटना जहाँ अर्बौंको सम्पत्ति देशको राजस्वमा आउन सक्थ्यो, त्यो रकम केही व्यक्तिका खातामा जान नदिन एउटा निष्पक्ष आयोग बनाएर छानबिन गरोस् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार