बेइमानीबाट भोगेको महासंकट

माघ २६, २०७४, काठमाडौँ — नेपाली कांग्रेसका विचारवान नेता रामचन्द्र पोखरेलको माघ २५ को लेख ‘कांग्रेसको महासंकट’मा धरातलीय यथार्थ समेटिएको छ । नेतृत्वबाट गल्तीमात्र होइन, बेइमानीका कारण यसपालीका सबै निर्वाचनमा कांग्रेसले अभूतपूर्व पराजय भोग्नुपरेको तितो यथार्थलाई उहाँले आत्मसात गर्नुभएको छ कि छैन ? स्पष्ट भएन । गल्ती गर्न पाइन्छ, तर बेइमानी गर्न पाइँदैन । गल्ती पनि दोहोर्‍याउन पाइँदैन । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको मात्र होइन, निर्वाचनअघि गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत आफैँमा केन्द्रित गरेर गरिएको यस निर्वाचनको परिणामबारे उहाँले जवाफदेहिता स्वीकार गर्नुपर्छ । निर्वाचनभन्दा अघि एकपछि अर्को मनपरी र निर्लज्ज प्रकारले गरिएका निर्णयहरूको एकमुष्ट जवाफ कांग्रेसले जनताबाट पाएको हो । १२ वर्षअघि देउवा प्रधानमन्त्री भएर पार्टी फुटाउनुभयो । १२ वर्षपछि पार्टीलाई आजको हालतमा पुर्‍याउनुभएको हो ।
कांग्रेसको १३ औं महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण प्रतिनिधिसमक्ष पुस्तिकाको रूपमा उहाँले बाँड्नुभएको ‘मेरो प्रतिबद्धता’मा वाचा गर्नुभएको छ, ‘म विधिको शासनमा आधारित सुदृढ एवं समृद्ध र अन्याय तथा विभेदबाट मुक्त नेपाल निर्माणमा विश्वास गर्छु ।……साथै नेपाली कांग्रेसलाई सुदृढ र गतिशील पार्टी बनाउनेछु । पार्टी र यससँग आबद्ध संगठनहरूलाई विधानसम्मत ढङ्गले चलाउने परिपाटीलाई संस्थागत गर्ने मेरो प्रयास हुनेछ । पार्टीका साथीहरूलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै एकताबद्ध पार्टी बनाउन प्रतिबद्ध छु ।’ आज कहाँ गए उहाँका यस्ता लिखितमका वाचाहरू ? आजभोलि कांग्रेसभित्र र बाहिर व्यापक रूपमा सुनिँदैछ,चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि र आफ्नै पत्नी आरजु राणा देउवालाई उहाँ राष्ट्रपतिबाटमनोनित गराएर राष्ट्रियसभाको सांसद बनाउने दाउमा हुनुहुन्छ । एकपछि अर्को यस्ता बेइमानीहरू पार्टी सभापति देउवाबाट अनगिन्ती हुँदै आएका छन् । पार्टी फुटाउँदा उहाँले ‘दासत्वबाट मुक्ति पाएको’ नारा लगाउनुभएको थियो । तर उहाँकाअक्षम्य गल्तीहरूबारे निष्ठावान नेता र कार्यकर्ताहरूको बोली भासिएको देख्दाचाहिँ दासत्वबाट मुक्ति होइन, निरन्तरतादिएको देखेर उदेक लाग्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार