फुटपाथ र साइकल लेनविहीन चक्रपथ बन्दै

माघ २६, २०७४    ललितपुर — चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले बनाउन थालेको कोटेश्वर–कलंकी सडकको निर्माणमा त्रुटि भएको भन्दै सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन् । ‘सेफ रोड इन नेपाल’ ले बिहीबार सरोकारवाला निकायहरूसँग चक्रपथ सुरक्षा विषयक गरेको अन्तक्र्रियामा निर्माणाधीन सडकमा फुटपाट र साइकल लेनविहीन भएको बताएका छन् । सेफ रोड इन नेपालका अनुसार नेपाल र चिनियाँ सरकारबीच चक्रपथ बनाउन भएको सम्झौतामा साइकल लेन रहने व्यवस्था छ । तर, अहिले बनाएको सडकमा साइकल लेन राखिएको छैन । सडक विभागले बनाएको नेपाल सडक मापदण्ड २०७१ अनुसार सडकको दायाँबायाँ न्यूनतम १.२ मिटरको साइकल लेन र न्यूनतम १.५ मिटरको फुटपाथ पनि हुनुपर्ने कानुनी व्यवस्था छ । तर, अहिले बनिरहेको चक्रपथमा ड्रेन, फुटपाट र साइकल लेनसहित गरी २.५ मिटर मात्र भएको सरोकारवालाहरूको भनाइ छ । कार्यक्रममा बोल्दै पत्रकार कनकमणि दीक्षित फुटपाथ र साइकल लेनबिनाको सडकले दुर्घटना निम्त्याउने निश्चित भएको बताए । उनले निर्माणाधीन सडकमा छुट्याइएको २.५ मिटर ड्ेरनका लागि कि फुटपाट या साइकल लेनका लागि हो भन्ने प्रश्न गरे । उनले भने, ‘यस्तो त्रुटिबारे सडक विभागका इन्जिनियरहरू समेत अनभिज्ञ छन् ।’ इन्जिनियर भूषण तुलाधरका अनुसार चक्रपथको स्पिड ५० किमि प्रतिघण्टा तोकिए पनि गतिअनुसारको सुरक्षा व्यवस्था नअपनाइएको बताए । उनले भने, ‘पैदल र साइकल यात्रुका लागि सुविधा पर्याप्त छैन ।’ उनले ८ लेन सडकको बीचमा मिडियन नभएको र पैदलयात्रु मैत्री सडक नभएको उल्लेख गर्दै भने, ‘भक्तपुरको ६ लेन सडकको उद्घाटन हुनुअगावै १२ जनाको मृत्यु भएको थियो । चक्रपथमा त्यस्तो नहोस् ।’ करिब १० किमि सडकमा तीनवटा मात्र आकाशे पुल मात्र राख्ने गरी डिजाइन गरिनु, हरित क्षेत्र र जेब्रा क्रसिङ पर्याप्त नराखिनु, बस स्टप, पार्किङ लट पर्याप्त नहुनु जस्ता त्रुटिका कारण निर्माणाधीन सडकले दुर्घटना बढाउने जोखिम रहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । इन्जिनियर तुलाधरका अनुसार यस्तो सडकमा प्रतिघण्टा ५० किमिको गतिमा आएको गाडीले ठक्कर दिंदा मानिसको मृत्यु हुने सम्भावना ६० प्रतिशत र ३० किमि प्रतिघण्टाको गतिमा आएकोले ठक्कर दिंदा मृत्यु हुने सम्भावना १० प्रतिशत सम्भावना रहेको बताउँछन् । सडक विभागले भने कोटेश्वर–ग्वार्को सडक निर्माणको सम्झौता भइसकेकाले डिजाइन परिवर्तन गर्न नसकिने बताउँदै आएको छ । विभागको योजना तथा वैदेशिक सहयोग महाशाखा प्रमुख सञ्जय श्रेष्ठले चालू आर्थिक वर्षको असारसम्ममा सडक सञ्चालनमा ल्याउने योजना रहेको बताउँदै सडक निर्माणमा केही कमी कमजोरी रहेको स्वीकारे । उनले भने, ‘चीनसरकारको सहयोगबाहेकका अन्य ६ वटा आकाशे पुल नेपाल सरकारले बनाउने तयारी छ । श्रेष्ठले ट्राफिक व्यवस्थामा पनि कमी कमजोरी रहेको उल्लेख गर्दै भने, ‘तीव्र सवारी साधन हाँक्नेलाई कडा कारबाहीको पनि व्यवस्था हुनुपर्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पूर्वसचिव तुलसी सिटौलाले नयाँ सडक पूर्वाधारले सुविधासँगै सडक दुर्घटना पनि निम्त्याउने बताए । उनले भने, ‘अब बनाउन बाँकी सडकमात्रुटि हुनुहुँदैन ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार