प्रधानन्यायाधीशका चार थरी जन्ममिति, प्रदेश सांसदलाई किस्तामा घडेरी

२७ माघ, काठमाडौं ।   दोहोरो नागरिकता लिएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश गोपाल पराजुलीका चार थरी जन्ममिति सरकारी अभिलेखमा फेला परेको,  छ।  सरकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको छ । न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि उनले बिभिन्न निकायमा पेस गरेका फरक फरक चार थरी जन्ममिति फेला परेका  छ । न्यायपरिषदका बुलेटिनहरुमा पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ । २०७० साल र त्यसअघिको न्यायपरिषद बुलेटिनमा पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ । यसैगरी २०५८ सालमा प्रकाशित न्यायपरिषद बुलेटिनमा तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश पराजुलीको जन्ममिति २०१० बैशाख १३ गते उल्लेख छ । पुनरावेदन अदालतका न्यायाधीशहरुको क्रमसंख्या २९ उल्लेख गरी पृष्ठ १४ मा उनको जन्ममिति र सेवा प्रवेशको मिति उल्लेख छ । पराजुलीको तेस्रो जन्ममिति २०१० बैशाख १६ गते हो । २०६७ कात्तिक २५ मा पेस गरेको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पराजुलीले प्रतिलिपि नागरिकता लिए । त्यसमा जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ । शैक्षिक प्रमाणपत्रमा आधारित भएर उनले प्रतिलिपि नागरिकता पाऊँ भनि दिएको निवेदनको आधारमा काठमाडौं जिल्ला प्रशासनले अभिलेखकै विवरण सच्याएर प्रतिलिपि नागरिकता जारी गरेको थियो । ‘जिल्ला प्रशासन कार्यालयले ‘प्रतिलिपि नागरिकता लिँदा पुरानो अभिलेख फरक पार्न पाइँदैन । उहाँको हकमा फरक परेको देखियो ।’  पराजुलीको चौथो जन्ममिति हो २०११ साल बैशाख १३ गते । नेपाल ल क्याम्पसबाट जारी भएका शैक्षिक प्रमाणपत्रमा प्रधान्याधीश पराजुलीको जन्ममिति उनले दावी गरेअनुसारकै देखिन्छ । तर, प्रवेशिकाको मार्कसिटमा २०११ बैशाख १३ गते उल्लेख छ । उनको प्रवेशिका मार्कसिट सार्वजनिक भए पनि जन्ममिति उल्लेख हुने चारित्रिक प्रमाणपत्र सार्वजनिक भएको छैन । उनले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको मार्कसिट न्यायपरिषदमा परे पनि त्यहाँबाट प्राप्त हुनुपर्ने चारित्रिक प्रमाणपत्र पेस गरेका छैनन् ।

राष्ट्रियसभामा तीन जना सिफारिस, मन्त्रीलाई ५० लाख उपचार खर्च

सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत, काठमाडौंकी चाँदनी जोशी र स्याङ्जाका कृष्णप्रसाद पौडेललाई सिफारिस गरेको  छ । सिफारिसमा परेका बस्नेत कांग्रेस विभाजित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकको झापा जिल्ला सभापति थिए । यस्तै, जोशी महिला विकासका लागि संयुक्त राष्ट्रसंघीय कोषकी दक्षिण एसिया क्षेत्रकी पूर्वनिर्देशक हुन् । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् । ५९ सदस्यीय राष्ट्रिय सभाकालागि निर्वाचनबाट हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना चुनिन्छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । यसैगरी मन्त्रिपरिषद बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णयसमेत गरेको  छ ।

प्रदेश सांसदलाई किस्तामा घडेरी

प्रदेश ३ का सांसदहरुलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले किस्तामा घडेरी उपलब्ध गराउने निर्णय गरेको छ । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको  छ । उपमहानगरका मेयर हरिबहादुर महतको प्रस्तावमा सांसदहरुलाई घडेरी दिने निर्णय भएको हो । हेटौंडा-८, कमानेमा रहेको सात बिघा जग्गामध्ये प्रदेश सांसदहरुलाई सहुलियत दरमा घडेरी दिने निर्णय भएको छ । यस्तो सुविधा मकवानपुरका ६ जना प्रदेश सांसदलाई भने दिइने छैन । मकवानपुरबाहेकका प्रदेश सांसदहरुलाई दश धुर -आधा कठ्ठा)को दरले घडेरी दिइने मेयर महतले जानकारी दिएका छन् । यस्तै प्रदेश सांसदहरुलाई बस्न सरकारी जग्गामा बनेका घर उपलब्ध गराइने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार