किन छाडे किरण गुरुङले मुख्यमन्त्रीको दाबी ?

२८ माघ, पोखरा । पार्टीको प्रदेश प्रमुख भएर संगठन सन्चालन गरिरहेका एमालेका तीनजना नेता प्रदेशको सरकार प्रमुख बन्नबाट भने बन्चित भएका छन् । प्रदेश ४ का संयोजक किरण गुरुङ संसदीय दलको नेता बन्ने रेसबाट बाहिरिएसँगै एमालेका प्रदेश संयोजकहरु मुख्यमन्त्री बन्ने सम्भावना पनि अन्तः भएको छ । प्रदेश १ का संयोजक भीम अचार्य र प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्य निर्वाचनबाटै पराजित भए । पार्टीभित्र माधव नेपाल खेमामा रहेका दुवै नेता आफूभन्दा जुनियर तर, संस्थापन समूहका उम्मेदवारसँग पराजित भएका हुन् । किरण गुरुङले भने चुनावी प्रतिस्पर्धामै नगई पृथ्वी सुब्बा गुरुङलाई दलको नेता प्रस्ताव गरे । पोखरामा लामो छलफल र संसदीय दलको बैठकपछि एमाले प्रदेश इन्चार्जसमेत रहेका किरणले खादा, माला र हात मिलाएर पृथ्वीसुब्बालाई बधाइ दिए । पृथ्वीसुब्बा लमजुङ प्रदेश सभा ख बाट निर्वाचित भएका थिए । माथिका नेता, प्रदेश संयोजक र प्रदेश सभा सांसदको सहयोगले आफू मुख्यमन्त्री बनेको पृथ्वीसुब्बाले बताए । ‘वाम घटकबीच एमाले संसदीय दलको नेता मुख्यमन्त्री बन्ने सहमति छ । हाम्रो बहुमत पनि छ,’ पृथ्वीसुब्बाले भने । ‘प्रदेश र सरकारबीचको सम्बन्ध अझ समधुर बनोस् भनेर पार्टीका प्रदेश प्रमुखले प्रस्ताव राख्नुभएको हो । कुनै लेनदेन, सहमति केही होइन,’ उनले भने । दलभित्र गुटबन्दी चल्नु हुँदैन भनेर आफूले मुख्यमन्त्री पद सहज रुपमा पृथ्वीसुब्बालाई छाडेको किरणले बताए । ‘बृहत पार्टी एकता र पार्टीभित्र जुन किसिमको अस्वस्थ प्रतिस्पर्धा छ, त्यो अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनका निम्ति मैले उहाँलाई प्रस्ताव गरेको हुँ,’ किरणले भने । प्रदेश नम्बर ४ मा सर्वसम्मत गरेर प्रदेश १ र ३ मा भएको निर्वाचनको पीडा पनि भुलेको उनले बताए । आफूले पनि उम्मेदवार दिँदा सहमति हुँदैन भनेर एउटा संरक्षक र प्रदेश नम्बर ४ को अभिभावकका हिसाबले पृथ्वीसुब्बालाई संसदीय दलको उता बनाएको उनको भनाइ थियो । म नै हुन्छु भनेको भए सहमति हुँदैनथ्यो । मैले छोडेपछि मात्रै सहमति हुन्छ भनेर छोडेँ’ गुरुङले भने, ‘व्यक्तिगत महत्वकांक्षा र व्यक्ति केन्द्रित भएर हुँदैन । हामीले प्रदेश ४ बाट पार्टीभित्र सहमतिको सन्देश दिन खोजेका हौं ।’ आफू हुनु र पृथ्वीसुब्बा हुनुमा कुनै फरक नपर्ने बताउँदै उनले पृथ्वीसुब्बा योग्य र सक्षम भएको गुरुङले बताए । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा नेताहरु लागेका थिए । आइतबार नयाँबजारस्थित पार्टी कार्यालयमा बैठक सुरु हुनुअघि प्रतिनिधिसभा सांसद खगराज अधिकारी, रवीन्द्र अधिकारी लगायत पार्टीका नेता र २ मुख्यमन्त्रीका दाबेदारबीच लेकसाइडमा छलफल भएको थियो । पृथ्वीसुब्बा र किरणले पनि वान टु वान छलफल गरेका थिए । निर्वाचनमै जाने र मुख्यमन्त्रीबाट फिर्ता नहुने बताउँदै आएका किरणलाई पार्टीका शीर्ष नेताले समेत सहमतिमा पृथ्वीसुब्बालाई आग्रह गरेको एमाले एक नेताले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार