शिवरात्री फिवर, बाबाजीको ग्ल्यामर

२९ माग २०७४ काठमाडौं,  पश्चिमी वायुको प्रभावले काठमाडौंको वातावरण चिसिएको छ । आकाश धुम्म छ । मौसम उदास छ । तर, पशुपतिनाथ परिसर छिचोल्दै जाँदा ‘मुड तुरुन्तै चेन्ज’ हुन्छ । त्यहाँको माहौल विन्दास छ । चिसो मध्यन्ह ‘टप लेस’ बाबाजीसँग हाम्रो साक्षात्कार हुन्छ । गेरु बस्त्रले लाज मात्र ढाकेका बाबाजीलाई जाडोको कुनै पर्वाह छैन । ६ फुटको च्यादर ओछ्याएर ‘शिवजी पोज’मा बसेका छन्, एक हातले त्रिशुल अठ्याएर । उनको छेवैमा मुढो जलिरहेको छ । त्यसलाई ‘शिवधुनी’ भने हुन्छ । त्यसैको रापमा भाते भुँडी तताएर बसेका बाबाजीको अघिल्तिर केहि फोटा छन्, जसमा सर्वाङ्ग बाबाजीको चर्तिकला देखिन्छ । त्यससँगै अक्षता र पाँच/दशका केहि थान नोट छन् । बाबाजी को सेवा करो ! एक सर्को धूँवा तानेर वायुमण्डलमा फ्याकेपछि राता एवं रसिला आँखाले हेर्दै उनी भन्छन्, ‘पशुपति नाथकी पवित्र भूमि पर आया हूँ ।’ उनको फोक्सोबाट बाहिरिएको धूँवामा गाँजाको गन्ध फैलिन्छ । हामी बाबाजीको चरणमा पाँचको नोट राखिदिन्छौं । तर, बाबा माने पो ! उनी पैसा हामीतिरै हुत्याइदिन्छन् । डरलाग्दो आँखाले हेर्छन् । बुझ्न गाह्रो छैन, उनको निम्ति भेटी कम भयो । बाबाजी केहि क्षण बार्गेनिङ गर्छन् । ‘फोटो मत खिचो’ बाबाजी चोर औंला ठड्याएर चेतावनी दिन्छन् ।

बाबाजी क्याम्पको ओपन सेक्रेट

पशुपतिनाथ पारी मृगस्थलीको उकालोमा लस्करै बाबाजीहरुले ‘क्याम्प’ खडा गरेका छन् । उनीहरु शिव धुनी जगाएर गजधम्म बसेका छन् । बसेका मात्र छैन, व्यापार पनि गरिरहेका छन्, चुरोटको ठूटोमा गाँजा भरेर । बाबाजीहरुको भाषामा त्यो ‘प्रसाद’ हो । शिवजीको प्रसाद । लागूऔषध नियन्त्रित मुलुकमा खुलमखुला बाबाजीहरु प्रसादको विस्कुन लगाएर बसेका छन् । भक्तालु भेषमा आएका तन्नेरीहरु सोध्छन्, ‘बाबाजी प्रसाद है ?’ बाबाजी गाँजा भरेको चुरोटको ठूटोमा तेर्साउँछन्, ‘लिजिए ।’ त्यस बापत बाजीको हातमा पचास रुपैयाँको नोट प्राप्त हुन्छ । तन्नेरी क्रेताको निधारमा खरानीको टिका लगाइदिँदै बाबाजी आर्शिवाद दिन्छन्, ‘भगवान तुम्हारा भला करे ।’ शरीरभरी खरानी घसेका, लामा जटा पालेका, निधारमा विचित्रको रंग पोतेका, गेरु बस्त्र पहिरिएका, गाँजाको लामो लामो सर्को तानिरहेका छन्, बाबाजीहरु । अघिल्तिरबाट हिँड्ने बटुवा (श्रद्धालु)लाई जतिसक्दो आकर्षण गर्ने दाउपेचमा छन् उनीहरु । जब बटुवाले चासोपूर्वक हेर्छन् । उनीहरु नजिकै बोलाउँछन् र टीका लगाइदिन्छन् । त्यसबापत पैसा माग्छन्, अलिकति धम्की र अलिकति अनुनयको लवजमा । भन्छन्, ‘बाबाजी के लिए कुछ खिलाओ ।  यत्तिकैमा तीन जुनियर बाबाजी देखापर्छन् । करिब १२, १३ बर्ष उमेरका उनीहरुको चर्तिकला सहिनसक्नु छ । खासगरी युवतीहरुलाई पच्छ्याउँछन् र धम्कीपूर्वक दान (पैसा) माग्छन् । जुनियर बाबाजीहरु भन्छन्, ‘हरियाणा से आया हुँ । दुर से आया हुँ । सेवा करो ।’ कमण्डुलमा पैसा नझरेसम्म उनीहरुले यसरी पच्छ्याउँछन्, जसरी पुटपाथमा भिखारीहरुले ‘ल्याङ’ गर्छन् । उनीहरुकै भिडमा नवजवान बाबाहरु छन् । उनीहरु पनि बटुवाबाट जबरजस्ती पैसा असुल गर्ने दाउपेचमा लाग्छन् । मयुरको प्वाखले हिर्काउँदै बाटो छेकेर भन्छन्, ‘बाबाजीको सेवा करो ।’ सडकको माथितिर बिचित्रका बाबाजीको क्याम्प छ । रापिलो आगोमा बेपर्वाह ज्यान सेकाएर बसेका बाबाजी गोरा छाला र कैलो कपाल भएका आगन्तुकले क्यामेरा तेर्साउनसाथ सर्तक हुन्छन्, पोज दिन्छन् । र, घोर्ले स्वरमा भन्छन्, ‘गिभ मनी । मनी । गिभ ।’ आगन्तुकहरु मुसुमुसु हाँस्दै अगाडि बढ्छ । बाबाजी अघिल्तिरको त्रिशुल टिपेर हिर्काउँला झै गरी जंगिन्छन् । नबुझिने भाषामा । मदहोस बाबाको ग्ल्यामर पोज दुई भलाद्मी बाबाजी सानो मन्दिरको आडमा सुस्ताएका छन् । पहेँलो बस्त्रधारी अधबैंशे बाबाजी एक जना बाबाजीको खुट्टामा टेकेर मसाज गरिरहेका छन् । अर्का बाबाजी गाँजा तानिरहेका छन् । जब बाबाजीको समिपमा एक विदेशी सुन्दरी पुग्छिन्, उनीहरू जर्‍याकजुरुक उठ्छन् । प्रशन्न मुद्रामा खडा हुन्छन् । बिदेशी सुन्दरीहरु बाबाजीको जटा खोल्न लगाउँछन् र आफ्नो गलामा गलबन्दी झै भिर्छन् । मोवाइलले फोटो क्लिक गर्छन् । विपरित दिशामा एक अधवैंशे बाबाजी छन्, शिवजीको गेटअपमा । अघिल्तिर बुढा बाबाजीहरुसँग विदेशी सुन्दरीको साठगाँठलाई निकै चनाखोपूर्वक नियालिरहेका छन् । सुन्दरीहरुले बुढो बाबाजीको हातमा कटकटिने नयाँ पचास-पचास रुपैयाँको नोट थमाइदिएपछि त ति अधबैंशे बाबाजी थप बेचैन हुन पुग्छन् । उनी आफुलाई सम्हाल्न सक्दैनन् । विदेशी सुन्दरीहरुको अघिल्तिर देखापर्छन् । सुन्दरीहरु अब शिवजीको गेटअपमा, क्रोधित मुद्रामा तैनाथ बाबाजीसँग फोटो खिच्न अघि सर्छन् । एक सुन्दरीले बाबाजीलाई पोज सिकाउँछिन् । बाबाजी मोडल झै पोज दिएर उभिन्छन् । विदेशी सुन्दरी र अधबैंशे बाबाजीको फोटोसूट चल्छ, केहि क्षण ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार