नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा

  बगैचा सम्वाददाता

काठमाडौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । एक समारोहकाबीच राष्ट्रपति भवन शितल निवासमा मुलुकको ४१ औँ प्रधानमन्त्रीका रुपमा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकि थिइन। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश, लगायत उच्चपदस्थ व्यक्तिको सहभागीता रहेको थियो । प्रधानमन्त्री ओलीले एमालेका तर्फबाट जनसंख्या तथा वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला तथा बालबालिका मन्त्रीमा थममाया थापालाई समेत नियुक्त गरेका छन् । पण्डित र थापाले पनि आजै राष्ट्रपति समक्ष शपथ लिएका छन् ।

यस्तो छ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा

शपथ ग्रहणसँगै केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। २००७ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओलीको परिवार २०२० सालमा झापामा बसाई सर्यो। झापा आएपछि नै उनी राजनीतिमा सरिक हुन थाले। २०२३ मा मार्क्सवादी अध्ययन दलमा संगठित हुँदै उनले आफ्नो राजनीतिक यात्रा सुरु गरे। आफ्नो राजनीतिक यात्राका दौरान उनले १४ वर्षको कठोर जेल जीवन समेत विताउनु पर्‍यो। २०२६ माघमा कम्यनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी २०२५ देखि पूर्णकालीन राजनीतिमा होमिएका थिए। २०२७ जेठ ९ मा पूर्णकालिन नेताको रुपमा आन्दोलन परिचालनको लागि भूमिगत जीवन शुरु गरेका ओली सोही वर्षको फागुन १६ गते पहिलो पटक गिरफ्तारिमा परे। २०२८ मा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएका ओली २०३० असोज २३ मा राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न भएको आरोपमा गिरफ्तार परे। यो पटकको गिरफ्तारी उनको लागि सहज भएन। १४ वर्षसम्म जेल जीवन विताउन वाध्य भए। ओलीलाई नेपालको राजनीतिमा झापा आन्दोलनले नै स्थापित गरेको थियो। नेपालको कम्युनिष्ट आन्दोलनलाई झापा आन्दोलनलाई विशेषरुपमा हेरिने गर्छ। जेलमै रहेको समयमा पनि उनी राजनीतिक गतिविधिबाट टाढा रहेनन्। जेलमै रहँदा २०३५ असार ११ मा उनलाई नेकपा (मार्क्सवादी-लेनिनवादी) को संस्थापक बने। उनी २०४४ असार ११ गते मात्र जेलबाट रिहा भए। सोही वर्ष पुस २ गते बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्‍यो। त्यसपछि उनी २०४६ मा तत्कालिन नेकपा मालेको लुम्विती अञ्चलको इञ्चार्ज बने। ओली युवा संघको संस्थापक अध्यक्ष समेत हुन्।

माले र मार्क्सवादीबीच २०४७ पुस २२ मा एकता हुँदा बनेको एमालेका समेत उनी संस्थापक केन्द्रीय सदस्य हुन्। २०४७ को आम निर्वाचनमा उनले झापा ६ बाट विजय प्राप्त गरे। २०५१ को मध्यावधिमा झापा २ बाट प्रतिनिधि सभामा निर्वाचित हुँदै मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बने। २०५४ माघमा भएको पार्टीको छैटौ महाधिवेशनबाट ओली स्थायी समिति सदस्य हुँदै विदेश विभाग प्रमुख भए। २०५६ को संसदीय निर्वाचनमा पुन: झापा ६ ले उनलाई विजयी बनायो। २०५६ देखि २०५९ सम्म ओली संसदमा प्रमुख विपक्षी दलको उपनेताको रुपमा काम गरे। २०५९ मा भएको पार्टीको सातौं महाधिवेशनमा पनि उनी स्थायी समिति सदस्य भए। २०६२/०६३ को जनआन्दोलन पछि संसद पुनस्थापित भएपछि बनेको अन्तरिम मन्त्रिमण्डलमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्रीको भूमिकामा रहे। देशमा पहिलो पटक २०६४ मा संविधान सभाको निर्वाचन भयो। यो पटक भने उनले विजय प्राप्त गर्न सकेनन्। २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचन मा भने झापा ७ बाट विजय प्राप्त गरे। पार्टीको आठौं महाधिवेशनपछि पार्टी बहुपदीय संरचनामा जाने प्रस्ताव स्विकृत गर्यो। उक्त महाधिवेशनमा ओली अध्यक्षका प्रत्यासी बने तर झलनाथ खनालसँग पराजित भए।२०७० माघमा संसदीय दलको नेतामा निर्वाचित भए। उनले त्यतिबेला पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए। २०७१ साउन मा भएको पार्टीको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए। उनले वरिष्ठ नेता माधव कुमार नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार