डिभिजन टूको उपाधि यूएईलाई, नेपाल ७ रनले पराजित

नेपालले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो .........

  बगैचा सम्वाददाता

काठमाडौं

वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधि यूएईले जितेको छ । हिजो भएको डिभिजन टूको फाइनल खेलमा नेपाललाई ७ रनले पराजित गर्द यूएईले उपाधि उचालेको हो । डिभिजन टूको फाइनल गुमाएसँगै नेपालले क्रिकेट अहिलेसम्मै माथिल्लो उपाधि जित्ने अवसर पनि गुमाएको छ । नेपालले २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ७० रनमात्रै जोड्नसक्यो । यद्यपि प्रतियोगितामा नेपालले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो । क्याप्टेन पारस खड्काले आज शतकीय इनिङ्स खेले । उनी १ सय १२ रनमा अविजित रहे । पारसको इनिङ्समा ८ छक्का र ३ चौका समावेश थियो । दीपेन्द्र सिंह ऐरीले ३५, शरद भेषावकरले ३०, ज्ञानेन्द्र मल्ले २४ र रोहितकुमार पौडेलले २३ रन जोडे । राउण्ड रोबिन लिगमा खुलेर खेल्न नसकेका नेपाली ब्याट्सम्यानहरु आज लयमा देखिएका थिए । यूएईका आमिर हयातले ४ विकेट लिए । त्यसअघि नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले समान एक/एक विकेट लिए । यूएईका अस्फाद अहमेद १ सय १४ रनमा अविजित रहे । रोहन मुस्ताफा ५१, रमिज सहजाद ४१ र साईमन अन्वारले ४० रन जोडे । डिभिजन टू को विजेता यूएई आगामी मार्चमा जिम्माबेमा हुने विश्वकप छनोटमा वेष्ट ईण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगीनी रहेको समूह ‘ए’ मा रहनेछ । उपविजेता नेपालले अब छनोटमा जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेको समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछ । छनोट चरणबाट २ टोली सन् २०१९ मा इङल्याण्डमा हुने विश्वकपका लागि छानिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार