डिग्रीवाला सिपाही साथीलाई म अनागरिकको पत्र

टोपबहादुर याक्खा
पाँचखपन–५, संखुवासभा
हाल–हङकङ

पलसमान जी म अनागरिक साथीको दश औंला जोडी नमस्कार ! आज परदेशबाट एउटा सानो पत्र कोर्दैछु, तिम्रो त्यो एक दुई एक, एक भन्दा बायाँ खुटृा भूईमा टेक परेड पछिको ब्रेकमा पढेर सिरानी मुनि थन्काउँनु होला ।
टोपमान जी मलाई थोरै सहयोग गर्नुुहोस न ल, धरानमा सानो झुप्रो बनाउँदैछु । तिमीलाई मनले जितेर सहयोग माग्ने आँट गरे । केहि पछि त फिर्ता गरिहाल्छु, अन्यथा नलिनु ल । फेसबुक म्यासेन्जरमा साथीसंगको हाई हेल्लो पछि आएको यो अनुरोधले म हुन्छ भन्नु की हुन्न भन्नु दोधारमा परे । हुन्छ भनौं म आफ्नै समस्यामा रन्थनिरहेको छु, हुन्न भनौं अतिनै मिल्ने साथीले गरेको पहिलो अनुरोधलाई कसरी नकारौं । जे होस मेरो आफ्नो वास्तविक समस्या सविस्तार लगाएर वहाँको अनुरोधबाट पन्छिन त पन्छिए तर कता–कता सहयोग गर्न नसकेकोमा भने आज सम्म नमिठो लागिरहेछ । तर मलाई विश्वास छ डिग्रीवाला साथीले मेरो समस्यालाई अवश्य बुझिदिनु हुनेछ ।
साच्चै मान्छेलाई पैसाले कहिले पुग्छ होला ? जति नै भए पनि लोभै लाग्ने । जहिल्यै मनमा असन्तोष । जति नै कमाए पनि समस्याले कहिल्यै नछोड्ने । हो साथी तिमी र म २०६० सालमा ईटहरी ब्यारेकमा छात्ती नपाएर भर्ति हुंदा महिनामा जम्मा २७ सय रुपैयाँ थाप्थ्यौं । दुःख सुख पुगेकै थियो । अहिले तिमी २० हजार माथि थाप्छौं होला, म पनि विदेशिए पछि केहि बढि नै थाप्ने भएको छु, तर समस्याले भने कहिल्यै छाडेन । तिमीसंगै हरेक रात सिरानी बनेको इन्सास राईफल, दिनभरीको सहयात्री बनेको अफिसको कम्यूटर र प्रिन्टरलाई सिरहा ब्यारेकमा छोडेर बिदेशिएको पनि ठ्याक्कै १० वर्ष भएछ । तर समस्या हिजो जस्तो थियो आज पनि उस्तै छ । हिजो ब्यारेकमा जस्तै न कहिल्यै मज्जाले निन्द्रा पुगुन्जेल सुत्न पाइएको छ, न त बसेर फुर्सदको श्वास मज्जाले फेर्न नै पाइएको छ । उस्तै दौडधुप, उस्तै अनिधो, विश्वकै महङ्गो शहरमा पैसा र वैंसको केहि महत्व छैन । लुटि ल्यायो, भुटि खायो हो साथी हङकङ शहर, आई.डी. वालाको रहर… । 
साच्चै कहिले काँही यसो फुर्सदमा तिमीहरुको सम्झना आउँदा पलसमान, चतुरमान र टोपमान हुँदाताकालाई सम्झने गर्छु र मनमनै आनन्दित हुने गर्दछु । हामी साच्चै सबैको प्यारो थियौं ब्यारेक घरमा । कसैको चम्चा, चाकरी, बुठ मोलेर भन्दा पनि हाम्रो योग्यता, मेहनत र विश्वासको कारणले । हामी ३ मानहरु बीचको मित्रता पनि उत्तिनै घनिष्ट थियो । तिमी र चतुरमानको मान मेरो टोप पछि जोडेर नामै टोपमान बनाएका थिए हवाल्दार, जमदार, सुविदार, लेफ्टिनेन्ट, क्याप्टेन, मेजर देखि कर्णेल साब सम्मले ।
हिजो ब्यारेक घरका हामी ३ मानहरु आज ३ तिर भएका छौं । सेकेण्ड लेफ्टिनेण्टबाट उभोको अधिकृत नबने सम्म सिपाहीको जागिरमा मान, सम्मान र दाम केहि पनि नमिल्ने देखेपछि मैले विदेशलाई रोजे । चतुरमान पनि केहि चतुर निर्णय  लिदै काठमाण्डौं हेडक्र्वाटर डि.एम.आई. (डारेक्ट मिलिटरी ईन्टेलीजेन्स) डिपार्टमा सरुवा भएछ । जे होस नेपाल आउँदा जाँदा देखि काठमाण्डौंका सम्पूर्ण कामहरु गराउँन साह्रै सजिलो भएको छ । हुन्न, सक्दिन र भ्याउँदिन भन्ने शब्द उ बाट कहिल्यै निस्कदैन । कहिले काँही त लाग्छ मलाई म पनि साह्रै अवसरवादी छु, र श्वार्थी पनि । तिमीहरुको लागि केहि सहयोग गर्न सकेको छुइन तर म भने आफ्नै नोकर चाकर झै सम्झेर बाराम्बार काम अह्राई रहन्छु । 
राम्रोसंग थाहा छ मलाई सिपाहीको जागिर । केहि काम नहुँदा पनि आज वरको ढुङ्गा पर र भोली त्यहि ढुङ्गा वर सार्न लगाउँने गरिन्छ त्यहाँ । त्यस्तो व्यवस्ताबीच पनि तिमीले त आफ्नो पढाईलाई जारी राखेछौं । टोपमान जी मैले त डिग्री पनि पुरा गरे, अब सेनाको पेन्सन पकाएर चै टिचिङ पेशामा लाग्ने सपना छ, हेरौ भाग्यले कहाँसम्म साथ दिन्छ । तपाईका यी शब्दहरु सुन्दा म ज्यादै खुसि भए । सायद नेपाली सेनामा सिपाहीको जागिर खाने डिग्री होल्डर तपाई मात्रै हुनुहुन्छ होला । खै त तपाईको योग्यताको कदर त्यहाँ ? अफिसर बन्नलाई तपाईमा के को कमि होला ? हो अवश्य कमि छ त्यो हो सोर्स फोर्स लगाउँने व्यक्ति नहुनु । यदि ठूला घरनाको भइदिएका भए, आफ्ना नजिककाहरु जर्नेल सम्म भइदिएका भए, कुनै राजनैतिक नेताहरु पक्डिएका भए पलसमान, चतुरमान र टोपमान यतिबेला कम्तिमा पनि मेजरसाब भईसक्ने थिए । न म बाध्य भएर विदेशिने थिए, न चतुरमान ईन्टेलिजेन्स डिपार्टमा जानु पर्नेथियो । न त तपाईले जसरी हुन्छ छिटो पेन्सन पकाएर अर्को जागिरको शुरुवात गर्ने सपना नै देख्नु पर्नेथियो ।
संखुवासभाकै दुर्गम हेदाङना गाउँमा जन्मिएको तिमीले परिवारजनहरु प्रति निभाउँनु पर्ने जिम्मेवारी पनि चुनौतीपूर्ण नै थियो । पारिवारिक अवस्था नाजुक, घरमा बुढा बाबा आमा । आफु परिवारको जेठो छोरो । सिपाहीको जागिरले के नै पो पुग्छ र ।  खाई नखाई ४ भाई र २ बहिनीहरुलाई पढायौं, जागिरे बनायौं । सबैलाई आ–आफ्नो हातखुटृामा उभिने बनाए पछि आफु पढ्न थाल्यौं, घरजम गर्यौ । कडा परिश्रमका साथमा सफा मन लिएर अगाडी बढे अवश्य भगवानले पनि हेर्छन होला । तिम्रो प्रगति देखेर ज्यादै खुसि छु र हरेक सपनाहरु साकार होउन कामना पनि ।
प्रगती गर्न भनि ब्यारेक छाडेको म भने जस्ताको तस्तै छु । हो तिमीले भन्दा केहि बढि देश हेर हुँला र डाल्डामा पाक्ने तरकारी छाडेर मुख पनि फेरे हुँला तर अरु खासै भन्न लायकको प्रगति केहि छैन । बरु उल्टै सरकारद्धारा अनागरिक बनाईदैछ । विदेशमा बस्ने हामी नेपालीहरु न देशको, न परदेशको ।

 

aama-book

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार