यी हुन् माओवादीमा मन्त्रीका दावेदार…………

०८ फागुन २०७४,  काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका प्रारम्भिक आधारहरु तय भएपछि मन्त्रिपरिषदमा जान माओवादी नेताहरु आतुर देखिएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार भरतपुर विमानस्थलमा सरकारमा आजनै केही मन्त्रीलाई पठाउने जनाउन दिए पनि उनीहरुको नाम निश्चित भइसकेको छैन। माओवादीबाट मन्त्री बन्नको लागि प्राय ‘सिनियर’ नेताहरुले दौडधुप बढाएका छन्। वरिष्ठ नेता रामबहादुर थापा राष्ट्रिय सभाको अध्यक्षको चर्चामा रहे पनि उनले अध्यक्ष दाहालसँग आफुलाई मन्त्री बनाउन आग्रह गरेको माओवादी स्रोतको दावी छ। थापाकै नेतृत्वमा माओवादी मन्त्रिमण्डलमा सहभागि हुने करिब निश्चित भएको एक माओवादी नेताले बताए। तर थापालाई कुन मन्त्रालयमा पठाउने भन्ने माओवादीले निश्चित गर्न सकेको छैन। उनी दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा रक्षामन्त्री थिए। प्रधानसेनापति रुकमाङगत कटुवाललाई हटाउने सरकारले निर्णय गर्दा थापानै रक्षामन्त्री थिए। उनी महोन बैद्यसँगै पार्टी विभाजनमा गए पनि पुन माओवादीमा फर्किएका हुन्। यता माओवादीका युवा नेता वर्षमान पुन मन्त्रीका अर्का आकांक्षी हुन्। यस अघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका पुनले यसपटक आफुलाई गृहमन्त्रीको आकांक्षीका रुपमा पार्टीमा पेश गरेका छन्। पुनले दाहालसँग आफुलाई गृहमन्त्रालय ठिक हुने भन्दै लविङ गरेको माओवादी नेताहरु बताउँछन्। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा मोरङबाट उम्मेदवार बनेका पुन पराजित भएका थिए। यस पटक उनले रोल्पाबाट चुनाव जितेका हुन्। पुनलाई दाहाल निकट नेताकारुपमा हेर्ने गरिन्छ। पुन जनमुक्ति सेनाका पूर्व डेपुटी कमाण्डर समेत हुन्। पूर्व प्रधानमन्त्री डा. भट्टराई सँगै नयाँ शक्तिमा पुगेर पुन माओवादीमा फर्केका देवेन्द्र पौडेलले पनि मन्त्रीमा आकांक्षा देखाएका छन्। पहिलो पटक सांसद बनेका पौडेलले आफुले अवसर नपाएको भन्दै पार्टीले मन्त्रीमा पठाउनु पर्ने माग गर्दै आएका छन्। पछिल्लो पटक उनी दाहाल सहभागि हुने हरेक कार्यक्रममा सँगै देखिन थालेका छन्। यस्तै दाहाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका चक्रपाणी खनाल समेत मन्त्रीका आकांक्षी हुन्। बैद्य माओवादीमा पुगेर पुन मुल पार्टीमै फर्केकी पम्फा भुसाल माओवादीबाट मन्त्रीमा अर्की आकांक्षी हुन्। महिला तर्फ आफुनै वरिष्ठ भएको भन्दै मन्त्री हुन पाउनु पर्ने पार्टी बैठकमा दावी गरिरहेको एक माओवादी नेताले बताए। उनीसँगै जयपुरी घर्ती र अमृता थापाले पनि मन्त्रीको आकांक्षा गरेका छन्। माओवादी विभाजन हुनु अघि मन्त्रीमा नाम सिफारिस भए पनि जयपुरी मन्त्री पद त्याग्दै वैद्य माओवादीमा पुगेकी थिइन्। यता सत्या पहाडी पनि मन्त्रीकी आकांक्षी हुन्। समानुपातीक सूचीमा सांसद भएकी पहाडी श्रीमान् शक्ति बस्नेत मन्त्री नबन्ने अवस्थामा स्वत मन्त्री बन्ने माओवादीमा चर्चा छ। मातृका यादवको मन्त्रीको लागि पार्टीमा दावी रहँदै आएको छ। पूर्व वनमन्त्री यादवले दाहालसँग कुरा नमिलेपछि पार्टी छोड्दै नयाँ पार्टी बनाएका थिए। उनी पुन माओवादीमा फर्किँदै सांसद भएका हुन्। मधेसबाट आफ्नो प्रतिनिधित्व हुनुपर्ने यादवको माग छ। यता जनार्दन शर्मा र कृष्णबहादुर महराले सरकारमा पटक पटक लाभका पद पाएकोले उनीहरुको सम्भावना कम रहेको एक नेताले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार