मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म………….

०९  फागुन,  काठमाडौं । तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन भारतमा लुकेर बसेका थिए । उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको थियो । पुनसहित उनका सहयोगी सोम आले नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीसमेत परिचालित भयो। त्यसक्रममा बुधबार बिहान करिब साढे ३ बजे प्रहरी र उनीहरुबीच देवदह–४, भवानीपुरमा जम्काभेट भयो । र, दोहोरो फायरिङ हुँदा उनीहरुको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीको दाबी छ । झण्डै दुई वर्षअघिदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुन अन्डरवर्ल्डको शैलीमा एकपछि अर्को आपराधिक घटना मच्चाउँदै व्यवसायीलाई धम्क्याएर असुली गरिरहेका थिए । उनी अन्डरवर्ल्डको शैलीमा घटनालगत्तै प्रहरी वा सञ्चारकर्मीलाई फोन गरेर जिम्मेवारी लिन्थे । ४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका मनोज पुनले २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेललाई गोली प्रहार गरे । पौडेल रुपन्देहीको देवदहका फर्निचर व्यवसायी थिए । उनले भारतमै बसेर रुपन्देहीका तिवारी र पौडेलको हत्या योजना बनाएका थिए । २३ असोज ०७४ मा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता रहेको प्रहरी बताउँछ । तिवारी र पौडेलको हत्या र अर्का एउटा हाइप्रोफाइल काण्डमा मुछिएपछि पुनले आफूलाई ठूलै आपराधिक सञ्जालको नाइकेको रुपमा प्रस्तुत गर्दै आएका थिए ।

को हुन् पुन ?

रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२÷६३ को परिवर्तनपछि शुरु भएको हो । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए । युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले । त्यसैक्रममा उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशन समेत माग्न थाले । र, आफूले भने अनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन थाले । माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को बिगबिगी रहेका बेला उनी राजनीतिक शरण लिन त्यतै प्रवेश गरेका थिए । वाईसीएलको आवरणमा उनलाई गुण्डागर्दीलाई बढाउन अझ सहज भयो । पछि उनी एमाले निकट युथ फोर्सतिर लागे । त्यसबेला पुन युथ फोर्सको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्षसमेत बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगियो । विभिन्न राजनीतिक दलमा लाग्नुको उनको मुख्य उद्देश्य भनेको कमिसन असुली र राजनीतिक संरक्षण नै हुने गरेको त्यहाँका एक व्यवसायी बताउँछन् । युथ फोर्समा रहँदा पनि पुनले फिरौती असुली र गुण्डागर्दी गर्ने क्रम जारी राखेपछि उनलाई निस्कासन गरिएको थियो । त्यसका लागि दुर्गा तिवारीले मुख्य भूमिका निर्वाह गरेको पुनको बुझाइ रहेको बताइन्छ । जसको प्रतिशोध स्वरुप दुर्गा तिवारीको पुनले हत्या गरेको प्रहरीको ठम्याइ छ । म्याग्दी पुर्ख्यौली घर भएका पुनका बुवा अवकास प्राप्त भारतीय सेना हुन् । उनका एक जना दाजु र दुई दिदीबहिनी छन् । देवदहको खैरेनी चोक छेउ उनको एकतले घर छ । उनकी दिदी माया बेलायतमा बस्छिन् भने बहिनी ममता देवदह मेडिकल कलेजमा नर्सिङ विषय अध्ययन गर्दैछिन् । मनोजको एक जना छोरीसमेत छिन् । स्थानीय केरवानी माविबाट एसएलसीसम्म अध्ययन गरेका छन्, पुनले ।

भारतीय अन्डरवर्ल्डसँग कनेक्सन

गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो । तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका थिए । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो । त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ । जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई–प्रोटेक्सन’ दिएर राखेको चाहीँ होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई भने, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा थियो ।’ जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम (डी–कम्पनी) त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् । पुन पछिल्लो समय डी–कम्पनीसँग नजिक पुगेको शंका थियो । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिएको छ । र, पुन इन्काउन्टरमा मारिएसँगै त्यो पनि रहस्यकै गर्भमा सीमित भएको छ । दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् । केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् । र, सेट्टीको डीकम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी–कम्पनीसँग सम्बन्ध हुन सक्ने बताइन्थ्यो ।’ तिवारीको हत्या भएको करिब २२ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पुनलाई खोज्दै भारतको गोवासम्म पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोकेसन ट्रेस गर्दै टोली त्यहाँसम्म पुगेको हो ।  गोवाको मर्दिम भन्ने स्थानमा उनी भाडामा बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनु दुई वर्ष अघिदेखि पुन त्यहीँ बस्थे । र, दुई पटक डेरा सरेर तेस्रोमा पुगेका थिए । जब प्रहरी गोवा पुगेर पुनको डेरामा ‘रेड’ हान्यो, तब पत्ता लाग्यो उनी दिल्ली पुगिसकेका रहेछन् । भारतीय प्रहरीले ट्रेस गरेको कल डिटेलअनुसार पुनको मोबाइल ४÷५ दिनसम्म दिल्लीमा ‘अन’ देखिएको थियो । त्यसपछि उनी ‘आउट अफ रिच’ भएका थिए । र, प्रहरी टोली खाली हात फर्किनु प‍रेको थियो । त्यसयता सीआईबीको विभिन्न टोली पुनको खोजीमा भारतमै थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार