वाम सरकारमा उपप्रधानमन्त्री नराख्ने………..

११  फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डसँग राखेका हुन् । माओवादी र एमाले दुबै पार्टीहरु एक भइसकेकाले अब गठबन्धन सरकारमा जस्तो उपप्रधानमन्त्री बनाइरहन आवश्यक नरहेको प्रधानमन्त्री ओलीको प्रस्ताव छ । ओली सरकारकै पालामा ६ जना उपप्रधानमन्त्री भएको थियो, जसको निकै आलोचना भयो । उपप्रधानमन्त्री धेरै बनाउँदा जनतामा राम्रो सन्देश नगएको भन्दै ओलीले त्यस्तो अलोकपि्रय काम नगर्ने चाहना व्यक्त गरेको एक नेताले बताए । माओवादीबाट रामबहादुर थापाले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व दाबी गर्दै आएका छन् । एमालेमा महासचिव ईश्वर पोखरेल लगायतले उपप्रधानमन्त्री दाबी गरिरहेका छन् । उपप्रधानमन्त्रीको दाबी गरिरहेका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने जुक्तिका रुपमा ओलीले कसैलाई पनि उपप्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्डसमक्ष राखेको स्रोतले बतायो । ओलीजी कसैलाई पनि उपप्रधानमन्त्री नबनाऔं भन्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो,’ प्रधानमन्त्रीले कसैलाई कार्यभार दिनुपर्दा एकजनालाई दिए भइहाल्छ, उपप्रधानमन्त्री नै हुनुपर्छ भन्ने छैन । उपप्रधानमन्त्रीविनाको क्याबिनेट बनाउँदा प्रधानमन्त्री ओलीलाई सरकारमा कनिष्ट एवं सक्षम व्यक्तिहरु ल्याउने बाटो खुल्नेछ । र, नयाँ मन्त्रीहरुले पनि क्याबिनेटमा लगभग समान हैसियत महसुस गर्न पाउनेछन् । उपप्रधानमन्त्रीहरु धेरै भएको मन्त्रिमण्डलमा भने अन्य मन्त्रीहरुको हैसियत कमजोर देखिने नेताहरुको बुझाइ छ । माओवादी स्रोतका अनुसार उपप्रधानमन्त्रीविहीन क्याबिनेट बनाउने ओलीको प्रस्तावमा प्रचण्ड पनि सकारात्मक छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार