प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलार्इ दुईतिहाइ मत

जनकपुर

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । एक सय ७ सदस्यीय प्रदेशसभामा उनका पक्षमा दुईतिहाइ मत परेको छ । नेपाली कांग्रेसबाहेक सबै दलले राउतलाई विश्वासको मत दिएका हुन्। प्रदेशसभा बैठकमा संघीय समाजवादी फोरम, राजपा, एमाले, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र गरी ८२ जना सांसदले राउतका पक्षमा मतदान गरे । कांग्रेसका १८ सांसदले विपक्षमा मतदान गरेका थिए । प्रदेशसभामा फोरमका २९, राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादीका ११, नेपाल संघीय समाजवादी पार्टीका एक र स्वतन्त्र एक सदस्य छन् । फोरम संसदीय दलका नेता राउत राजपाको समर्थनमा मुख्यमन्त्री भएका हुन्। प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राउतले सबै दलका नेतालाई भेटेर विश्वासको मत दिन लिखित अनुरोध गरेका थिए। विश्वासको मत पाएका मुख्यमन्त्री राउत एकदुई दिनभित्रै सरकार विस्तार गर्ने तयारीमा छन् । राउतले चाँडै मन्त्रिपरिषद् विस्तार गरी युद्धस्तरमा समृद्धिको अभियान अगाडि बढाउने बताए । अहिले मन्त्रिपरिषद् तीन सदस्यीय छ । फोरमका विजय यादव आर्थिक मामिला तथा योजनामन्त्री र राजपा संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधार मन्त्री छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार