मन्त्रीमण्डल बिस्तार आज गर्ने प्रधानमन्त्रीको तयारी

  बगैचा सम्वाददाता

काठमाडाै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । सत्तासहयात्री माओवादी केन्द्र र आफ्नो दलबाट समेत गरी प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल बिस्तारको तयारी गरेका हुन । केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति गरेका दुई दलबीच एमालेलाई १० र माओवादी केन्द्रलाई ७ वटा मन्त्रालय दिने तय भइसकेको छ । आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री चयन गर्न माओवादी केन्द्र बिहानैबाट छलफलमा जुटेको छ । माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागीता जनाउने तयारी गरेको छ । माओवादी केन्द्रबाट बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुषाल, मातृका यादव, लेखराज भट्ट, देबेन्द्र पौडेल अग्नी सापकोटा बिना मगर, जयपुरी घर्ती लगायतको नाम चर्चामा छन् भने यता एमालेले पार्टीको तर्फबाट मन्त्री छान्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ । एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र योगेश भट्टराई तथा नेताहरु रघुबिर महासेठ, कृष्णगोपाल श्रेष्ठ लगायतको नाम चर्चामा छ । सरकार बिस्तारका सम्बन्धमा हिजो साँझ दुई अध्यक्षबीच भएको छलफलमा मधेशवादी दलहरुलाई पनि सरकारमा सहभागि गराउन आज अन्तिम प्रयास गर्ने सहमति भएको थियो । सोही सहमतिका आधारमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीसँग आज थप छलफल गरेपछि मात्रै मन्त्रीहरुको अन्तिम टुंगो लगाउने सत्तारुढ दलको तयारी छ । उनीहरुको निर्णयका लागी मध्यान्हसम्म कुर्ने र त्यसपछि मात्र मन्त्रीहरुको सपथ कार्यक्रम राख्ने प्रधानमन्त्री ओलीको तयारी छ । राष्ट्रपति कार्यालयले पनि साँझसम्ममा सपथ गराउने तयारी थालेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार