सांसदको सपथ लिन कसले पाउने, कसले नपाउने ?……..

 १९ फागुन २०७४, काठमाडौं – नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार तोकिएको संघीय संसदको प्रथम अधिवेशनबाट प्रतिनिधिसभा सदस्यहरुको सपथ हुँदैछ। सो कार्यक्रममा सिलवालसँगै टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीले पनि सपथ लिनसक्ने संसद् सचिवालयले जनाएको छ। टीकापुर घटनालगत्तै फरार चौधरी अहिले हिरासतमा छन्। उनले केही दिनअघि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन्। संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले फौजदारी मुद्दा लागेका चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका सिलवालको सम्बन्धमा कुनै निकायबाट लिखित रुपमा केही जानकारी नआएकाले उनीहरू उपस्थित भएर शपथ लिन सक्ने जानकारी दिए। ‘उहाँ (सिलवाल र चौधरी)को बारेमा हामीलाई कुनै निकायले सपथ रोक्नेगरी केही जानकारी गराएको छैन,’ उनले भने– ‘तोकिएको समयमा संसदमा उपस्थित हुनुभयो भने सपथ हुन्छ।’ यता एमालेबाट निर्वाचित सिलवाल शनिबार एमाले–माओवादी केन्द्रले आयोजना गरेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन्। उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबाट प्रशिक्षण लिए। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा सम्पर्कविहिन भएका सिलवाल ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक भएका थिए। उनी ओलीलाई बधाई दिन बालुवाटार समेत पुगेका थिए।

 

कसले सपथ लिन पाउँदैनन्  ?

संसद् सचिवालयकाका अनुसार सिलवाल र चौधरीले सपथ लिन पाउने भएपनि राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलले नपाउने भएका छन् तत्कालका लागि तीनै जनाको शपथ रोक्ने सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण उनीहरूको शपथ नहुने प्रवक्ता गौतमले बताए। तीन जनामध्ये सांसद सपथ नलिइकनै युवराज खतिवडा अर्थमन्त्री भइसकेका छन्। राष्ट्रियसभामा देउवाले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई नयाँ सरकारले फिर्ता गरी नयाँ सदस्य सिफारिस गरेको र त्यसलाई राष्ट्रपतिले मनोनीत गरेपछि सर्वाेच्चमा रिट परेको थियो। प्रतिनिधिसभाका २७५ सदस्यलाई ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ५९ लाई तारादेवी भट्टले आइतबार अपराह्न सपथ गराउने कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार