जिम्वाबेविरुद्ध नेपाल………..

२० फागुन, काठमाडौं । आगामी केही दिन नेपाली क्रिकेटका लागि अत्याधिक महत्वपूर्ण हुनेछन् । राम्रो खेले वान डे स्टाटस पाउनेदेखि विश्वकप खेल्नेसम्मका सम्भावना छन्, अन्यथा अर्को एउटा सुवर्ण अवसर खेर जानेछ । नेपालले विश्वकप छनोट चार वर्षअघि पनि खेलेको हो । त्यसैले यहाँ पुग्नु नै नयाँ इतिहास होइन । तर, सुपर सिक्समा पुगेर नयाँ इतिहास रच्ने अवसर छ । तर, यसका लागि नेपालले आफ्नो उच्चतम क्षमतामा प्रदर्शन गर्नैपर्छ । नेपालले पहिलो खेल भोलि टेस्ट मान्यताप्राप्त तथा लगातार पछिल्ला ९ विश्वकपमा सहभागीता जनाएको जिम्बाब्वेविरुद्ध उसकै भूमिमा खेल्दैछ । कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी-२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । आजको खेलले नेपालको दिशा निर्धारण गर्न सक्छ । जिम्बाबेलाई स्तब्ध तुल्याउन सके नेपालसँग अरु राष्ट्रहरु तर्सिनेछन् । नतिजा जिम्बाब्वेको पक्षमा गए नेपालको यात्रा कठिन हुनेछ ।

नेपाली टिमको उच्च मनोबल

डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ । डिभिजन-२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ । फाइनलमा नेपाल यूएईसँग पराजित भयो । तर, त्यसमा पनि नेपालले सजिलै हार मानेको थिएन । यूएईले दिएको कठिन लक्ष्यमा नेपाल ७ रन मात्रले चुकेको थियो । त्यही यूएईलाई तीन दिन अगाडिको अभ्यास खेलमा नेपालले मिठो जवाफ फर्कायो । २९ ओभरमा घटाइएको खेलमा नेपालले ५ विकेट र चार बल बाँकी रहँदा लक्ष्य पुरा गरेको थियो । नेपालले दोस्रो अभ्यास म्याच पनि खेल्न पाएको भए अझ राम्रो हुन्थ्यो तर, हङकङविरुद्धको म्याच ‘वासआउट’ भयो ।

नजर नेपालको ब्याटिङमा

नेपाली ब्याटिङमा सिनियर र जुनियर ब्याट्सम्यानहरुको गजब संयोजन छ । त्यसो त प्रतियोगितामा सबैभन्दा भविश्यवाणी गर्न नसकिने ब्याटिङ लाइनअप नेपालकै देखिन्छ । टिममा पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको खेलाडीहरुको त्रिशक्ति छ । उनीहरुमध्ये भरलाग्दा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको पछिल्लो खराब र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ । नेपाली ब्याटिङका एक खम्बा मानिएका उनले राम्रो सुरुवात दिलाउन नसके नेपाली टिम चाँडै दवावमा पर्नेछ । त्यसैले उनी र्फममा फर्किनु नेपालका लागि अति महत्वपूर्ण हुन्छ । अर्कोतर्फ कप्तान पारस खड्का लयमा छन् । उनी डिभिजन २ प्रतियोगिताभरी सबैभन्दा बढि रन बटुल्ने र सबैभन्दा बढि छक्का हान्ने ब्याट्सम्यान थिए । फाइनलमा यूएईविरुद्ध उनले उत्कृष्ट शतक हानेका थिए, तर त्यो नेपाललाई जिताउन पर्याप्त भएन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार