भण्डारीलाई पुन: राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

  बगैचा सम्वाददाता

काठमाडौ

सत्तारुढ प्रमुख दल नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै पुन: राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राति अबेरसम्म बसेको स्थायी समिति बैठकले सर्वसम्मत रुपमा भण्डारीलाई नै उम्मेद्वार बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिका लागि भण्डारीसँगै वरिष्ठ नेता झलनाथ खनालको दाबी थियो । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले खनाललाई राष्ट्रपति बनाउनुपर्ने अडान राखेपछि निर्णय गर्न समय लागेको थियो । राष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउन हिजो साँझ साढे ५ बजेदेखि झण्डै साढे ७ घण्टासम्म बैठक बसेको थियो ।

राष्ट्रपति भण्डारी यसअघि २०७२ साल कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचित भएकी हुन । एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रबाट उम्मेदवार हुनेछन् । उता उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनले नै निरन्तरता पाउने सम्भावना बढी देखिएको छ । संघीय संसद र प्रदेशसभामा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी र पुनले दोस्रो कार्यकाल पनि निरन्तरता पाउने निश्चितप्राय देखिन्छ । यसैबीच यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार