सरकार आज विश्वासको मत लिदै, तीन दलसहित स्वतन्त्रको समर्थन

  बगैचा सम्वाददाता

काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा सदस्यसँग विश्वासको मत लिने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । आज अपरान्ह् बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूती रहेको जनाइएको छ । प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४) मा व्यवस्था गरिएको छ । २ सय ७५ सांसद संख्या रहेको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री ओलीलाई बहुमत भने सहजै प्राप्त हुने देखिन्छ ।
यसैबीच राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । उता राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएकोछ । राप्रपा प्रवक्ता भुवन पाठकले राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिको अपेक्षा गर्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएपछि प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले नै व्यवस्था गरेको छ ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने देखिन्छ । राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले राजपाले सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको जानकारी दिए । त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार