मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट ………..

३० फागुन , २०७४   काठमाडौँ । मुख्यसचिव अर्थात् निजामती सेवाका सर्वोच्च व्यक्ति । सम्पूर्ण कर्मचारीतन्त्रलाई नियमन र निरीक्षण गर्ने व्यक्ति । त्यसबाहेक प्रधानमन्त्रीसँग प्रत्यक्ष जोडिएर देशको नीति निर्माण तहमा काम गर्ने व्यक्ति ।  तर मङ्गलबार हामीले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले अवैध रातो नम्बर अर्थात् निजी नम्बर प्रयोग गरेर सरकारी गाडी चलाएको समाचार प्रकाशन गर्दैगर्दा प्रधानमन्त्री कार्यालयअगाडि एउटा गाडी देखियो । मुख्यसचिवज्यूलाई देशको सामान्य कानुन थाहा नहुने कुरा कल्पना गर्नसमेत सकिँदैन । मुख्यसचिव हुनुअघि गृह मन्त्रालयकै सचिव भएर काम गरेको व्यक्तिलाई सवारीसाधनसम्बन्धी नीति र कानुन थाहा नहुने भन्ने कुरा पनि भएन । बा १५ च ४१८६ नम्बरको यो सवारी नम्बर अहिले यातायात व्यवस्था कार्यालयको लगतमा छैन । यो गाडी अहिले आन्तरिक राजस्व विभागको नाममा दर्ता छ र यस गाडीको सरकारी नम्बर बा २ झ २००५ हो र हुन्डाइको टक्सन जिपमा सवार गर्ने व्यक्ति हुन्, नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी ।हामीले यो गाडीको डिटेल्स यातायात व्यवस्था कार्यालयसँग माग्यौँ । यस गाडीको सरकारी नम्बर बा १५ च ४१८६ भएको पत्ता लाग्यो र यस गाडीलाई आन्तरिक राजस्व विभागले किनेर बा २ झ २००५ मा दर्ता गरेको भेटियो ।  मुख्यसचिवको कार्यालय पनि प्रधानमन्त्री कार्यालयमै हुने भएकाले यो गाडी प्रधानमन्त्री कार्यालयकै गेट अगाडि नै थियो । हामीले यस गाडीमै रहेका चालकलाई यो गाडी सरकारी हो कि निजी हो भनेर सोध्यौँ । उनले सरकारी गाडी भएको बताए । तर सरकारी नम्बर चाहिँ कति हो भनेर भन्न सकेनन् । अनि निजी नम्बरको स्वीकृति कहिलेसम्म छ भनेर सोध्यौँ । चालकले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

राम्रा गाडी जति हाकिमलाई ?

हामी आन्तरिक राजस्व विभागमा पनि पुग्यौँ । तर यो गाडी विभागले किनेलगत्तै अर्थ मन्त्रालयलाई बुझाएको रहेछ । राम्रो र नयाँ गाडी देखेपछि गृहसचिव हुँदा हालका मुख्यसचिव लोकदर्शन रेग्मीले आँखा लगाएका रहेछन् । उनले अर्थ मन्त्रालयबाट उक्त गाडीको माग गरी आफैले प्रयोग गरिरहेका रहेछन् ।  सरकारी गाडी कुनै उच्च पदस्थ सरकारी कर्मचारीले प्रयोग गर्नु कुनै नौलो र अनौठो विषय भएन । विषय त यो हो कि मुख्यसचिव नै चढ्ने गाडी गैरकानुनी ढङ्गले चल्यो भने के गर्ने ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार