नेपाली संगीतमा आसामकी कोइलीः मिलन अमात्य………..

०७४ चैत ७  यी गायिका नेपाली गीतमा आफ्नो वर्तमान मात्र होइन, भविष्य पनि देखिरहेकी छिन् । देश-विदेशका कैयौं स्टेजमा गाइसकेकी मिलन भन्छिन्, ‘नेपाली दर्शक-स्रोताकै चाहनाअनुरुप मेरो सांगीतिक यात्रा अघि बढाउँछु । उनका बाबाले भन्ने गर्थे, ‘तिमीले पछि नेपालमा गएर गाउनुपर्छ । त्यहाँ हाम्रो पुर्खाको माटो छ ।’ नभन्दै आसामकी गायिकाले नेपाललाई आफ्नो कर्मभूमि बनाइन् । ६ सयभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेकी मिलन अहिले नेपालको हिट गायिकाको सुचीमा दरिन्छिन् । त्यसो त उनले अहिलेसम्म आसामी, हिन्दी र राजस्थानी भाषामा समेत गरी २ हजारभन्दा बढि गीत गाइसकेकी छिन् ।

संखुवासभादेखि आसामसम्म

मिलनका हजुरबा-हजुरआमाले नेपालको संखुवासभामा प्रेम विवाह गरेका थिए । तत्कालीन समयमा उक्त विवाह खाँदवारीवासीका लागि पाच्य भएन र उनीहरु सो ठाउँ छोडेर हिँडे आसाम । भुटानको छेउमा रहेको नुनाईखुटी भन्ने गाउँमा जंगल फाँडेर बसेको थियो उनको परिवार । अरु आफन्तहरु नजिकै थिए । वरपर बस्नेहरु प्रायः नेपाली नै थिए । आसाममै मिलनकी आमा अम्बिका नेवार र बा गणेश नेवारले पनि प्रेम विवाह गरे । तर, घरमा स्वीकारेनन् । त्यसैले विवाहपछि मिलनकी आमा माइतमै बसिन् । उनका बुबा इण्डियन आर्मीमा जागीर खान्थे । बेला-बेला घरमा आउँथे । मिलनको जन्म मामाघरमै भएको थियो । उनी त्यहीँ हुर्किइन् । इनाकुटी गाउँमै रहेको एमई स्कुलमा पाँच कक्षासम्म पढिन् । सात कक्षापछि गोरीयाधार हाइस्कुल भर्ना भइन् ।

ठूलीआमाको प्रेरणा

उनकी ठुलीआमा डुकुना नेवार राम्रो गाउँथिन् । ठुलीआमाकै कारण घरमा गाउने माहोल थियो । मिलन ठुलीआमासँगै प्राक्टिस पनि गर्थिन् । स्कुलमा उनको गायन कलाको विषयमा चर्चासमेत हुन थाल्यो । उनका मामाहरु पनि संगीतमा सक्रिय थिए । घरको माहोलले पनि उनलाई गायनमा सहयोग पुग्यो । स्कुलमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थालेपछि ट्रफी पाउन थालिन् । मिलन भन्छिन्, ‘म प्राय सेकेण्ड र थर्ड हुन्थेँ, अनि सानो कप पाउथेँ । सोच्थेँ कि म किन फस्र्ट हुन सकिरहेकी छैन ?’ उनी १३ वर्षकी थिइन् । भानु जयन्ती आयो । भानु जयन्तीमा आसाममा भब्य कार्यक्रम हुन्छ । उनकी ठुलीआमा डुकुनालाई उक्त कार्यक्रममा गाउनका लागि निम्ता गरिएको थियो । उनकी ठुली आमा कार्यक्रमका लागि जाँदै थिइन् । बाटोमा पानी पर्‍यो । खोला तरेर जानु पर्ने थियो । तर, खोला बढेपछि तर्न सम्भव थिएन । खोला सानो होला र तरौंला भन्दाभन्दै ढिला भएको थियो । कार्यक्रम स्थलमा पुगेपछि थाहा भयो दर्शक निकै रिसाएका रहेछन् । आयोजक पनि उत्तिकै आत्तिएका । ठुलीआमाले टि्रक लगाइन् । आफूलाई भन्दा पहिला सानी फुच्ची मिलनलाई स्टेजमा पठाइन् । मिलनले ‘किन मन हुन्छ चञ्चल’ र एउटा हिन्दी गीत गाइन् । फुच्ची मिलनको गीत सुनेपछि दर्शकको आक्रोस साम्य भयो थप्पडी बजाउदै गीतमा रम्न थाले । अनि ठुलीआमाले आफ्नो गीत गाइन् । त्यो स्टेज केबल ठुलीआमा मात्रै हैन, मिलनका लागि पनि फलदायी सावित भयो । गाउँदेखि जिल्ला हुँदै अन्य शहरमा समेत उनको चर्चा सुरु भयो । आसाममा तत्कालिन समयमा ठुलीआमाका बुबा -हजुरबा) सात-सात गाउँका मुखिया थिए । मुखियाले जसलाई जिम्मेवारी दियो त्यही ब्यक्ति अर्को मुखिया हुने चलन थियो । हजुरबाले आफु मर्नुअघि मिलनकी ठुलीआमालाई मुखिया तोकेका थिए । जीवनको उत्तरार्द्धमा मुखिया भएपछि ठुलीआमाले सांगीतिक कार्यक्रम थोरै कटौती गरिन् । त्यही स्थान पाइन् मिलनले ।

नेपाली सुन्दा रमाइलो

२००८ तिर धरानमा एउटा स्टेज शो भयो । उनकी ठुलीआमा धरानमै थिइन् । ठुलीआमाको छोरा प्रकाश जोशी धरानमै रहेको दोभान क्लबमा ड्रम बजाउँथे । तिहारको बेला भानुचोकमा एउटा कार्यक्रम हुने भयो । त्यही कार्यक्रमका लागि उनलाई निम्ता आयो । त्यहाँ अन्य थुप्रै नेपाली गायिका पनि सहभागी थिए । मिलनले गाउने भनेपछि अन्य गायिका रिसाएर गीतै गाएनन् । अरुले रिसाएर नगाएपछि मिलन एक्लैले गाइन् ।त्यसपछि नेपालसँग उनको सम्बन्ध अलि गाढा हुन थाल्यो । आउने जाने क्रम जारी रह्यो । ‘मिलन’ एल्बमका लागि पहिलोपटक काठमाडौ आइन् । आसाममा धेरै भाषाभाषीका हुन्छन् । सबै आ-आफ्नै भाषामा काम गर्छन् । सार्वजनिक बसमा पनि आ-आफ्नै भाषामा कुरा गर्ने धेरै हुन्थे । जब मिलन नेपालमा आइन्, सबैले नेपाली बोलेको सुन्दा उनलाई अचम्म लाग्यो ‘सबैले नेपाली बोल्दा रहेछन् । त्यो देख्दा मलाई निकै रमाइलो लाग्थ्यो,’ मिलनले भनिन् ।

पहिलो रेकर्डिङ

मंगलदय भन्ने शहरमा एउटा स्टेज शो भयो । जहाँ भारतका धेरै कलाकार सहभागी थिए । भारतका राष्ट्रिय कलाकार बुलबुल हुसेन पनि आएका थिए । चार-पाँच जना म्युजिसियनसहित हुने कार्यक्रममा मिलनले नेपालीभाषीको प्रतिनिधित्व गर्दै गीत गाइन् । उनको गीत सुनेपछि बुलबुल हुसेनले मिलनको बारेमा चासो राखे । गीत गाउने बहिनीको नाम नम्बर चाहियो’ भनेर आयोजकलाई उनले भनेछन् । पछि हुसेनसँग भेट भयो । उनले मिलनलाई दुईटा गीत गाउन प्रस्ताव गरे । गीत रेकर्डका लागि गुहाटी जानुपर्ने थियो । उनको घरबाट गुहाटी पुग्न लगभग एकदिन लाग्थ्यो । बिहान गाडी चढेपछि बेलुका ४ बजेतिर पुगिन्थ्यो । उनको बाबा छुट्टमिा घर आएका थिए । बाबासँगै गुहाटी पुगिन् मिलन । यो उनको जीवनको पहिलो रेकर्डिङ थियो । के होला, कस्तो होला मनमा खुल्दुली छँदै थियो । स्टुडियोमा सबै कुरो रेडी भयो । मिलन माइक अगाडि उभिइन् । रेकर्डिस्टले सोधे, ‘यीनले गाउन सक्छिन् र ?’ उनले गाइन् । गीत निकै राम्रो भयो । पछि तिनै रेकर्डिस्टले भने, ‘तपाईको भविष्य उज्जवल छ ।’ उनले दुईवटा गीत गाएवापत दुई हजारका दरले चार हजार भारु पाएकी थिइन् । एसएलसीपछि उनी टंग्ला कलेज पढ्न थालिन् । उनी आसामी, हिन्दी र नेपाली गीत गाउँथिन् । पछि राजस्थानी लोकगायक बद्री भियास्सँग भेट भयो, जो उनका गुरु पनि हुन् । भियाससँगै केही महिना उनले राजस्थानी गीत सकिन् । यहि वीचमा राष्ट्रिय प्रतियोगिता हुने भयो । उनी असामबाट छनौटमा परिन् । जजहरु थिए नेसाद अलि, पद्म भुषाद, गजल गायक पिनाज मसानी र शास्त्रिय संगीतकार सुशिला रानी पट्टेल । nमिलनले स्टेज कार्यक्रमबाट थोरै कमाउन थालेकी थिइन् । तर, प्रशस्त पैसा थिएन । राष्ट्रिय प्रतियोगिता अरुभन्दा फरक थियो । डे्रस लगायतमा राम्रै खर्च हुन्थ्यो । डेरा भाडा, कलेज फि लगायत पैसा खर्च हुने अन्य ठाउँ पनि थिए । तीनै गुरुजी भियासले केही पैसा दिए मिलनलाई, ‘तिमीले कमाएपछि मलाई फिर्ता गर्नु’ भन्दै । उनी त्यही पैसा लिएर जयपुर पुगिन् । गजल र लोकमा फस्र्ट रनरअपको अवार्ड पाइन् । उनलाई लाग्छ, त्यही कार्यक्रम उनको जीवनको टर्निङ प्वाइन्ट थियो । त्यसपछि राजस्थानी, आसामी र नेपाली गीतमा भटाभट अफर आउन थाल्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार