बालुवा तस्करीमा जनप्रतिनिधि……….

०९ चैत २०७४, ललितपुर, दुई दशकपछि चुनिएका स्थानीय जनप्रतिनिधि जनताको काम गर्नुको साटो बालुवा, रोडा र ढुंगाको अवैध निकासीमा लाग्न थालेका छन्। ललितपुरको दक्षिण भेगका स्थानीय जनप्रतिनिधि यस्तो कारोबारमा संलग्न हुन थालेका हुन्। गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, वाग्मती गाउँपालिका वडा– ३ का वडाध्यक्ष विष्णु तिमिल्सिनालगायत जनप्रतिनिधि अवैध निकासीमा लागेको स्थानीयवासी बताउँछन्। ‘खोला र सडकछेउका जग्गा उधिनेर धमाधम बालुवा तस्करी भइरहेको छ,’ वाग्मती गाउँपालिकास्थित भट्टेडाडाँका स्थानीय श्याम लोप्चनले भने, ‘यसमा मुख्य हात जनप्रतिनिधिकै छ, उनीहरूले कडाइ गरेको भए यसरी बालुवा र ढुंगा तस्करी हुने थिएन। ‘खोला र सडकछेउका जग्गा उधिनेर धमाधम बालुवा तस्करी भइरहेको छ, यसमा मुख्य हात जनप्रतिनिधिकै छ, उनीहरूले कडाइ गरेको भए यसरी बालुवा र ढुंगा तस्करी हुने थिएन ।’ स्थानीय जनप्रतिनिधिकै संलग्नतामा ललितपुरका खानीखोला, ठोस्ने खोला, टुंगुन खोलासहित स्थानीय साना खोलाबाट बालुवा तथा ढुंगाको अवैध उत्खनन र निकासी हुने गरेको छ। प्रहरी र जनप्रतिनिधिसँग सेटिङ मिलाएर दैनिक २० टिपरभन्दा बढी बालुवा र ढुंगा निकासी भइरहेको स्थानीयवासी बताउँछन् । ललितपुरमा उत्खनन गरिएको बालुवा र ढुंगा काठमाडौं, मकवानपुर, धादिङलगायत जिल्लामा पु¥याइन्छ । ढुंगा र बालुवा निकासीमा प्रयोग हुने टिपर र उत्खननमा प्रयोग गरिने स्काभेटर तथा डोजर समेत जनप्रतिनिधिकै भएकाले अवैध कार्यमा उनीहरूको संलग्नता पुष्टि हुन्छ। वाग्मती गाउँपालिका वडा– ३ का वडाध्यक्ष तिमिल्सिनाको नाममा रहेको बा.२ख ९८१६ नम्बरको टिपरसहित उनकै नाममा रहेका स्काभेटर र डोजर अवैध बालुवा उत्खनन् र निकासीमा प्रयोग भइरहेका छन् । तिमिल्सिना स्वयं आफ्ना नामका सवारीसाधन र उपकरण बालुवा उत्खनन र निकासीमा प्रयोग भएको स्विकार्छन् । तर, उनी बालुवा उत्खनन र निकासी गैरकानुनी नभएको दाबी गर्छन्। उनले बगरमा खेर गएको बालुवालाई विकास निर्माणमा प्रयोग गरेको बताए । ‘हामीले मात्रै बालुवा झिकेका छैनौँ,’ उनले भने, ‘अरुले पनि खोलाको बालुवा झिकेर तस्करी गरेका छन्, यसलाई सबै मिलेर रोक्नुपर्छ ।’ उनका अनुसार गाउँपालिकाले प्रतिटिपर ६ रुपैयाँ कर उठाएर निकासी गर्न छुट दिएको बताए। तिमिल्सिना मात्र होइन, दक्षिणी ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले सञ्चालन गरेका २० वटाभन्दा बढी टिपर बालुवा निकासीमा प्रयोग भइरहेका छन् । गत साता भट्टेडाँडा पुग्दा बा.४ख ५१०६, बा.४ख २५२६, बा.४ख ४५५१, बा.२क ३४६७ लगायत नम्बर प्लेट भएका टिपरले विभिन्न खोलाबाट बालुवा तस्करी गरिरहेको भेटिएको थियो। दक्षिणी ललितपुरबाट गोदावरी नगरपालिकास्थित चापागाउँ हुँदै विभिन्न क्षेत्रमा बालुवा र ढुंगा तस्करी हुने गरेको छ। एउटा टिपरले दैनिक चार पटकसम्म बालुवा र ढुंगा तस्करी गर्ने गरेको स्थानीयवासी बताउँछन्। दक्षिण ललितपुरबाट गुडेका मालवाहक टिपर तथा अन्य सवारीसाधनको मुख्य चेकपोस्ट महानगरीय प्रहरीवृत्त चापागाउँ हो । अवैध रूपमा भइरहेको बालुवा र ढुंगा निकासीलाई भने प्रहरीले समेत बेवास्ता गरिरहेको छ। दक्षिणी ललितपुरबाट गोदावरी नगरपालिकास्थित चापागाउँ हुँदै विभिन्न क्षेत्रमा बालुवा र ढुंगा तस्करी हुने गरेको छ । एउटा टिपरले दैनिक चार पटकसम्म बालुवा र ढुंगा तस्करी गर्ने गरेको स्थानीयवासी बताउँछन्।
प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले रातिको समयमा आउने टिपरलाई निगरानी बढाएको जानकारी दिए । उनले पछिल्लो समय दक्षिण ललितपुरलाई जोड्ने अरु बाटा पनि खुलेकाले ती बाटोबाट बढी तस्करी हुने गरेको बताए । ‘हामीले सक्दो निगरानी गर्ने हो,’ उनले भने, ‘तर, अधिकांश टिपरमा जनप्रतिनिधिकै नाम जोडिएर आउँछन्, त्यसैले पनि काम गर्न अप्ठेरो परेको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार