७१ औं साहित्य श्रृंखलामा स्व.ईन्द्र बहादुर राई प्रति शोकसभा

  टोपबहादुर याक्खा

 

२५ मार्च, हङकङ– आयामेली तथा लीला लेखनका अभियन्ता समेत रहेका वरिष्ठ साहित्यकार स्व.ईन्द्र बहादुर राई प्रति शोकसभा संगै सृजना वाचन तथा समीक्षा गर्दै ७१ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा चित्रित ६ मार्चका दिन दार्जिलिङ स्थित आफ्नै निवासमा देहवासन भएका स्व.ईन्द्र बहादुर राईको स्केचमा फूल चढाउँदै १ मिनेट मौनधारण गरिएको थियो । त्यस लगत्तै चित्रकार तथा साहित्यकार दिपेन्द्र राई, अर्का साहित्यकार अतित मुखिया तथा स्व.राईको छिमेकी समेत रहेका छोपेल पोजलले स्व.राई बारे बोलेका थिए ।
त्यस लगत्तै उपस्थित कवि तथा साहित्यकारहरु पूर्णिमा शाह, चन्द्र सम्बाहाम्फे, रमण गुरुङ, अतित मुखिया, दाजु गुरुङ, लालबहादुर गुरुङ, विष्णु मुखिया, डोम राना लगायतले सृजना वाचन गरेर सुनाएका थिए ।
श्रृंखलाकी सह–संयोजक सुनिता गिरीद्धारा संचालन गरिएको कार्यक्रमको अन्त्यमा संयोजक डी.बी. पालुङ्वाद्धारा समग्र कार्यक्रम बारे समीक्षात्मक मन्तब्य राखेका थिए । मन्तब्यकै क्रममा श्रृंखलाद्धारा ७ औं वार्षिक उत्सवको अवशरमा प्रकाशोन्मुख पुस्तकका लागि आफ्ना सृजनाहरु दिएर सहयोग गर्न समस्त हङकङबासी साहित्यकारहरुलाई अनुरोध गर्नुका साथै श्रृंखलाको आयोजनामा आगामी अप्रिल २, सोमबार साँझ बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित नेपालका चर्चित कवि चन्द्र रानाहँछाको एकल कविता वाचन कार्यक्रमलाई सफल बनाउँन उपस्थितिका लागि समेत सबैलाई अनुरोध गरेका थिए ।
साहित्य श्रृंखलाद्धारा नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ६ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार