आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’……….

 १३ चैत २०७४,  म्याग्दी– सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ। जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी, महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा भएको जहाजजस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको अध्यक्ष पुनले बताए । ड्रोन बनाउने क्रममा पटक–पटक परीक्षण उडानसमेत गरिएको थियो। ड्रोनले औषधि लिएर गन्तव्यस्थान पुगी औषधि छोडेर एयरपोर्टमा फर्किनेछ।  अप्रिल महिनाको पहिलो–दोस्रो हप्तामा म्याग्दीको दुर्गम गाउँबाटै परीक्षण उडान गर्नेछौं । स्वास्थ्य मन्त्रालयसँग एक प्रकारको सम्झौतासमेत भइसकेको छ,’ पुनले भने । नेपालका अति दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा नियमित औषधि ढुवानी, विभिन्न रोगको प्रकोप फैलिएमा तत्काल ड्रोनको प्रयोग गरी आवश्यक उपकरणसहितका मेडिकल सामग्री पुर्याउनसमेत सहज हुने उनले बताए । औषधि ओसारपसार गर्न पहिलोपटक प्रयोग गर्न लागिएको ड्रोनले अन्तर्राष्ट्रियस्तरका आविष्कार केन्द्रलाई समेत आकर्षित गर्ने बताइएको छ । पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृह मन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताए । ‘नियमित औषधि ढुवानी गर्न केही समय लाग्छ । केन्द्रबाट एक्लै गर्न खोजेको छैन,’ पुनले भने । नयाँ सृजनशील काम गर्ने नेपाली युवालाई काम गर्ने वातावरण बनाउन केन्द्र सफल भएको बताए । ड्रोनले औषधि लिएर गन्तव्यस्थान पुगी औषधि छोडेर एयरपोर्टमा फर्किनेछ । ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने युवाहरू व्यस्त रहेका छन् । ड्रोन बनाउने क्रममा पटक–पटक परीक्षण उडानसमेत गरिएको थियो । केन्द्रमा नेपाली प्रतिभाशाली युवाहरूले काम गरिरहेका छन् । परीक्षण उडानका क्रममा कति किलोमिटरसम्म उडान गर्न सकिन्छ भन्नेसमेत हेर्ने बताइएको छ । करिब २० किलोमिटरसम्म उडान भर्न सक्ने ड्रोन बनाउने सोच रहेको केन्द्रले जनाएको छ । केन्द्रमार्फत विद्युतीय सवारीसाधन, जलविद्युत् आयोजनाका सोचसमेत बनाइएको छ । विश्वभर रहेका नेपाली वैज्ञानिकलाई नेपालमै काम गर्ने वातावरण बनाउन केन्द्रको स्थापना गरिएको थियो । बिदेसिएका हजारौं प्रतिभाशाली सन्ततिलाई स्वदेश फर्काएर देश विकासमा लगाउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको पुनको भनाइ छ । देशको कुल गार्हस्थ उत्पादनको शून्य दशमलव ५ प्रतिशत बजेट विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएर त्यसबाट देशमा अनुसन्धान र विकास गर्ने पुनको प्रस्तावलाई सरकारले स्वीकार नगरेपछि केन्द्र स्थापनाको घोषणा गरेका थिए । पुनले नेपालको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण तथा विदेशबाट केन्द्रलाई महादान अभियानबाट आर्थिक स्रोत जुटाइरहेका छन् । केन्द्रले विद्युत् उत्पादनका लागि ५० करोड आर्थिक संकलन गरी बाँकी बैंकबाट ऋण लिएर काम गर्ने बताए पनि सहयोग जुट्न समय लाग्ने भएपछि ड्रोनसहितका उपकरण बनाउने कार्य सुरु गरेको थियो । केन्द्रको दिगो विकासका लागि तीन वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी बिक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि ताररहित इन्टनेटरमार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटनलगायतका क्षेत्रमा सक्रिय थिए । सन् २००७ मा एसियाको नोबेल पुरस्कारभनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनाश तालको उत्तरपट्टको ठुलाकोट भन्ने डाँडामा २० वर्ष अगाडी खरिद गरेको २८ रोपनी जग्गासमेत केन्द्रलाई दान गरेका छन् । म्याग्दी जिल्लाका साथै प्रवासमा रहेका म्याग्देलीले समेत केन्द्रलाई प्राथमिकतामा राखेर सहयोग गर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार