सार्वजनिक बिदा कटौतीमा कटौती, संविधान दिवस राष्ट्रिय उत्सवका रूपमा मनाइने

  बगैचा सम्वाददाता

काठमाडौँ

सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । मुलुकमा सार्वजनिक बिदा बढी भयो भनेर विरोध भइरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा कटौतीको निर्णय गरेको हो । कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । सरकारले बडादसैंमा दिइँदै आएको बिदासमेत घटाएको छ । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।

मन्त्रिपरिषद्ले कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई समेत अन्त्य गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अनुसार अब त्यस्ता बिदा सम्बन्धित जाति, समुदाय, धर्म या भेग विशेषलाई मात्र दिने निर्णय भएको जानकारी दिए । अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।

सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा रहने कर्मचारीको दरबन्दी र संरचनासमेत स्वीकृत गरेको छ । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन तहका लागि दरबन्दी र संरचना स्वीकृत गरेको हो । अब स्थानीय तह (महानगर, उपमहानगर, नगर र गाउँपालिका) का लागि ३६ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार