राष्ट्रपति भण्डारीले मुख खोलिन्………

१६ चैत २०७४,   (राससको सहयोगमा)

मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताएकी छिन् ।  उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को शुक्रवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जीप दुर्घटना बारे मुख खोलेकी हुन् । राष्ट्रपति भण्डारी जननेता मदन भण्डारीकी धर्मपत्नी हुन् । २०५० जेठ ३ चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा तात्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको थियो । एमालेको वरिष्ठ नेता हुँदै मन्त्री र राष्ट्रपति बनेपनि भण्डारीले यसअघि दासढुंगा दुर्घटना बारे सार्वजनिक रुपमा बोलेकी थिइनन् । राष्ट्रपति भण्डारीले संग्रहालय शुभारम्भ गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताइन् । उनले संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताइन् । संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिइन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले संग्रहालयले नयाँ पुस्तालाई मदन भण्डारीका बारेमा थप जिज्ञासु बनाउने बताए । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्मृति प्रतिष्ठानलाई प्राविधिक शिक्षाको केन्द्र बनाइने आश्वासन दिए । स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले प्रतिष्ठानलाई प्रौद्योगिक विश्वविद्यालय बनाउन सङ्घीय संसद्मा विधेयक विचाराधीन रहेकाले त्यसलाई पारित गर्न सरकार र सांसदहरुलाई आग्रह गरे । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो । संग्रहालयमा मदन भण्डारीको जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ । तीन करोड रुपैयाँको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार