चारखोले शिशिरकृत उपन्यास ‘उध्रिँदो आकास’ लोकार्पण ।

काठमाडौँ, १७ चैत, लेखक तथा साहित्यकार चारखोले शिशिरद्वारा लिखित उपन्यास ‘उघ्रिँदो आकाश’ को लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । आज राजधानीमा आयोजित एक विशेष समारोहकाबीच डा. गिता केशरी र योगेन्द्र प्रशाद तिमिल्सिना को बाहुलीबाट कृतिको लोकार्पण गरेका हुन् । कृति लोकार्पणपछि बोल्दै प्रा.डा. गोबिन्द राज भट्टराईले यो कृतिले रोजगारीमा विदेशिएका युवाको दुःख, पूर्वी पहाडको दुःख र महिलाले समाजमा भोगेका दुःखलाई उठान गरेको बताए । यो कृति आत्म-संस्मरणजस्तै भएको बताउँदै भट्टराईले पूर्वी पहाडका लिम्बू समुदायको यथार्थता पस्किएको बताए । पूर्व साहित्यको केन्द्र रहेको र त्यसमा पनि इलाम विशेष रहेको बताउँदै उनले चारखोले शिशिर पनि त्यहिँको उत्पादन भएको बताए ।
उनले अगाडि भने, डा. देवी क्षेत्री दुलालको घरफर्क ‘उपन्यास’ सुजन सेलिङको युद्धले भुलेको बाँकी युद्ध (कवितासंग्रह) श्याम सिंगकको रेमिट ल्याण्ड (कवितासंग्रह) र शान्ति लिम्बूको मिली-जुली (उपन्यास) जस्तै निरन्तरता हो, यो सुखद छ ।अन्य जस्तै यो कृति पनि आफ्नो मूलभूमिको दुःखमर्मलाई छोएर लिएको बताए । उपन्यासको समीक्षा गर्दै साहित्यकार कुमार कोइरालाले द्वन्द्वको घाउ, ग्रामीण जनजीवन, आञ्चलिकता र नारी माथिको उत्पीडनको कथा उल्लेख भएको बताए । उनले भने, ‘माओवादी द्वन्द्वको मारमा परेर नेपाली युवाहरु कसरी परदेशमा पुगे भन्ने एउटा परिवेश छ ।’कोइरालाले विछोडको पीडा’ गरिबीको पीडा र विदेशमा पुगेर देशप्रेमको पीडा, नयाँ ‘मुना मदन’ को कथा यो उपन्यासले बोकेको बताए । साहित्यकार गिता केशरीले नारीको पीडा उपन्यासमा उल्लेख भएको बताउँदै नारीमाथिको उत्पीडन सह्य नभएको बताइन् । यही देशको परिस्थिति राम्रो भएको भए कोही पनि युवाहरु विदेशिनु पर्ने थिएन भन्दै उनले शिक्षा, कृषि र अन्य विकासले यही बसेर माया बाढ्न पाउनु पर्ने बताइन् । आकाश उघ्रिँदै गरेको परिवेश यो उपन्यासमा आएको बताउँदै उनले अब उघ्रिएको आकाश शीर्षकमा अर्को उपन्यास लेख्न पनि उपन्यासकारलाई आग्रह गरिन् । साहित्यकार भानेन्द्र सम्बाहाम्फे लिम्बू ले शुभकामना दिँदै कृतिकारले साउदी अरबबाट पठाएको सन्देश पढेर सुनाएका थिए । ओरियन्टल पब्लिकेशनको आयोजनामा भएको लोकार्पण तथा विमर्श कार्यक्रमको सभापतित्व योगेन्द्र तिम्सिनाले गरेका थिए भने ज्ञानु अधिकारीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार