बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति………

चैत १९, २०७४  भक्तपुर । सोमबार विहान ९ देखि १० बजेसम्म १ घण्टा यातायात व्यवसायीहरुले कोटेश्वरमा चक्काजाम गर्ने चेतावनी दिएपछि कोटेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।तर, निर्धारित समयमा त्यहाँ चक्का जाम भने गरिएन । आज सम्बन्धित पक्षसँग वार्ता रहेको कारण चक्काजाम नगरिएको बुझिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा १३ वटा बस व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपूर्व यातायात समन्वय समितिले भक्तपुर क्षेत्रमा साझा बस र मयुर यातायातले नयाँ बस सञ्चालन गरेको विरोधमा आन्दोलनको घोषणा गरेका हुन् । समितिको निर्णयबाट यस सोमबारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प पारेको छ । भक्तपुरको दुवाकोट, चाँगुनारायण, झौखेल, छालिङ, सिपाडोल, बागेश्वरी, तेलकोट, नगरकोट, सिपाडोल डोलेश्वर, बालकोट सिरुटार, च्यामासिंह, ताँथलीलगायतका ग्रामीण रुटमा सञ्चालित यातायात सेवा बन्द गरिएको भक्तपुर मिनिबस सेवा समितिका सचिव प्रकाश बस्नेतले जानकारी दिएका छन् । भक्तपुरका ग्रामीण रुटमा भक्तपुर मिनिबस सेवा समिति, मध्य उपत्यका बस व्यवसायी संघ, मध्यपुर सद्भाव समिति, नयाँ बाटो ठिमी सद्भाव समिति, उत्तर–पूर्वी यातायात संघले सेवा सञ्चालन गर्दै आएका छन् । मयुर यातायात प्रालिलाई बनेपासम्म रुट इजाजत दिएको विरोधमा यातायात व्यवसायी संघ र समितिले सार्वजनिक सवारीको सेवा बन्द गरेको हो । समितिका अध्यक्ष दिनेश प्रधानले यातायात व्यवसायीको आन्दोलन आलोपालो प्रणाली लाद्न नभई ग्रामीण क्षेत्रमा पनि साझा यातायात र मयुर बसले सेवा दिनुपर्छ भन्ने माग राखेको बताए । समितिले चैत २१ गतेदेखि कोटेश्वरबाट अरनिको राजमार्ग भएर चल्ने सबै सार्वजनिक सवारी बन्द गर्ने चेतावनीसमेत दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार