अवैध खानी बन्द गर्न पत्र………….

२० चैत २०७४,   ललितपुर – बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ। लामो समयदेखि अनुमतिबिना खानी सञ्चालन भएको खुलासा भएपछि नगरपालिकाले बन्द गराउन पत्र काटेको हो्।  आइतबार नागरिक दैनिकमा उक्त समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल बैठक बसेर खानी बन्द गर्न नगरपालिकाको ध्यानाकर्षण गराएकोे थियो। जिल्ला प्रशासन कार्यालयले ‘साइनिङ बालुवा वासिङ सेन्टर’ बन्द गराउन मौखिक निर्देशन दिएलगत्तै मेयर गजेन्द्र महर्जनले दर्ता प्रक्रिया अघि बढिसकेको बताएका थिए। उनले सबै प्रक्रिया पूरा भएकाले दर्ता नरोकिने बताएका थिए। सोमबार नागरिक दैनिकमै ‘अवैध खानी दर्ता गर्दै नगरपालिका’ भन्ने समाचार प्रकाशित भएपछि जिल्लाका सरकारी निकायले मेयर महर्जनलाई खानी बन्द गर्न दबाब दिएका हुन्। सोहीअनुसार खानी बन्द गराउन पत्राचार गरेको महर्जनले बताए। उक्त पत्रको चलानी नम्बर ३१६९ हो। ‘खानी सञ्चालकको ठूलै बदमासी रहेछ,’ महर्जनले भने, ‘त्यसबारे धेरै जानकारी पाएपछि दर्ता प्रक्रियामा रहेको खानी बन्द गर्न हामीले पत्र काटिसकेका छौं। मंगलबारदेखि नै उक्त खानी बन्द हुनुपर्छ।’ उनले गोदावरी नगरपालिकाभित्र २६ वटा क्रसर उद्योग र ढुंगाखानी दर्ता भएको जानकारी दिए। ‘यहाँ कुनै पनि बालुवाखानी दर्ता भएका छैनन्,’ उनले भने, ‘भएका जत्ति सबै अवैध हुन्, थाहा हुनेबित्तिकै हामीले बन्द गराउन पहल गर्नेछौं।’ गोदावरी नपा–८ डुकुछापस्थित बागमती किनारमा अवैध रुपमा सञ्चालनमा रहेको उक्त खानीले दैनिक सयौं टिपर बालुवा निकासी गर्दै आएको छ। तस्करहरुले उक्त खानीबाट निकालिएको बालुवा जिल्लाका विभिन्न डिपोमा पु-याउँदै आएका छन्। प्रमुख जिल्ला अधिकारी महादेव पन्थले लामो समयदेखि सञ्चालनमा आएको उक्त खानी बन्द गराउन जिल्ला प्रशासनले पटकपटक निर्देशन दिँदा पनि नगरपालिकाले नटेरेको आरोप लगाए। ‘नगरपालिकाको पत्र आएपछि हामीले कारबाही गर्न मिल्छ,’ उनले भने, ‘पछिल्लो नियमअनुसार खानी वा क्रसर उद्योग दर्ता गर्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई छ। स्थानीय तहको पत्रअनुसार हामी अवैध खानी बन्द गर्छौं।’ बालुवा तस्करीमा गोदावरी नपा–८ वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा र सञ्जीव अधिकारीलगायतको टोली संलग्न छ। उनीहरुले बागमती नदीको बहाव परिवर्तन गरेर अवैध रुपमा बालुवा तस्कर गर्दै आएका छन्।

कारबाही गर्दैन प्रहरी प्रशासन

गोदावरी नगरपालिका–८ को कार्यालय र महानगरीय प्रहरी वृत्त फर्सीडोलदेखि करिब एक किलोमिटर दुरीको फरकमा छ बागमती नदी र खहरेखोला। यी खोलामा बालुवा निकासीका लागि बा १ क ८७६२, बा २ ख ९७७६ र ग १ ख ६६७७ लगायत नम्बरका टिपर प्रयोग भएका छन् भने बा २ ख ४११४, बा ३ ख ४४०८ लगायत नम्बरका एक्जाभेटर बालुवा निकाल्न प्रयोग भएका छन्। वडा कार्यालयका कर्मचारी र वडाध्यक्ष बिहानबेलुका यही बाटो भएर हिँड्छन्। तर, अवैध खानीमा कसैले पनि प्रश्न उठाउँदैनन्। त्यस्तै, प्रहरी कार्यालयको गेटैबाट बालुवा बोकेका टिपर ओहोरदोहोर गर्छन्। यो दृश्य हेर्दा वडाध्यक्ष र प्रहरीको सेटिङमा बालुवा तस्करी भइरहेको प्रस्ट हुन्छ। वडाध्यक्ष सुकबहादुर लामा उक्त खानीमा आफ्नो संलग्नता रहेको दाबी गर्छन्। लामाले मेमिन खिया लाग्न थालेकाले कहिलेकाहीं चलाउने गरेको बताए। ‘पहिले यो खानी सञ्चालनमा आएको थियो । धेरैतिरबाट विरोध आएपछि हामीले बन्द गराएका छौं,’ उनले भने, ‘यद्यपि कहिलेकाहीं मेसिन नबिग्रियोस् भनेर सञ्चालन हुन्छ।  वडा कार्यालयअगाडि रहेको खहरे खोलाको बहाव परिवर्तन गरेर ढुंगा र गिटी तस्करी भइरहेको छ। खोलाको बालुना निकाल्दा र पर्खाल उठाउँदा खहरे खोलाको बहाव साँघुरिएको छ। वडा कार्यालयअगाडिकै ५० रोपनी जग्गा ढुंगा र बालुवा निकालेर खण्डहरमा परिणत भएको स्थानीयको भनाइ छ। ‘वडाध्यक्षले डाँडाकाँडा ताछेर सक्न थाले,’ नाम उल्लेख नगर्ने सर्तमा इकुडोलका एक स्थानीयवासीले भने, ‘यसले हाम्रो बस्ती जोखिममा पारेको छ।’ उनले पानीको अभावमा काकाकुलजस्तै भएका वडावासीलाई खानेपानीको प्रबन्ध मिलाउनुको सट्टा बालुवा तस्करीमा वडाध्यक्ष पल्किएको आरोप लगाए।  महानगरीय प्रहरी वृत्त फर्सीडोलका सई कृष्णप्रसाद सिटौलाले आफू यो क्षेत्रमा खटिएको चारपाँच दिनमात्रै भएकाले तस्करहरुबारे त्यति जानकारी भइनसकेको बताए। ‘रातभर टिपर ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘मौखिक रुपमा हामीले अवैध बालुवा तस्करी नगर्न धेरैपल्ट आग्रह ग¥यौं। तर जनप्रतिनिधिकै हात रहेकोले प्रहरी प्रशासनलाई तस्करहरुले टेरेनन्।’ उनले जनप्रतिनिधिसँग मोटरसाइकलमा हिँडेका टोले गुन्डाहरुले हेल्मेट समेत प्रयोग गर्न नमानेको बताए। ‘हामीसँग जनप्रतिनिधिलाई कारबाही गर्न पाउने अधिकार छैन,’ उनले भने, ‘ठाउँअनुसारको अवस्था हेरेर सुरक्षा दिनुपर्छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार