प्रधानमन्त्रीद्धारा माथिल्लो तामाकोशी जलविद्युत आयोजना समयमा पूरा गर्न निर्देशन

  बगैचा सम्वाददाता

काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताएका छन् । आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताएका छन् । यो आयोजना ४ सय ५६ मेगावाटको हो ।

यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ । तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।प्रधानमन्त्री ओलीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म बिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताएका छन् । उनले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन् । माथिल्लो तामाकोशी हाइड्रोपावरका सिइओ  विज्ञान श्रेष्ठले भने भारतीय कम्पनी टेक्सम्याकाले काम नगरेका कारण आयोजनाको काम समयमै निर्माण अघि बढ्न नसकेको बताएका छन् । श्रेष्ठले अहिलेसम्म आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको जानकारी गराए । आयोजनाको लागत ४९ अर्ब २९ करोड हुने उनको आँकलन छ । सुरुमा यो आयोजनाको लागत भने ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार