द्रूतमार्ग नामाकरण……….

शुक्रबार, ३० चैत २०७४,  मुगु- कर्णाली प्रदेश सरकारले सुर्खेत–हिल्सा सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रूतमार्ग नामाकरण गरेको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा मुगुको रारातालमा बसेको कर्णाली प्रदेशको पाँचौं मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि चीनसँगको सीमा हुम्लाको हिल्सासम्मको सडकलाई प्रधानमन्त्री अन्तराष्ट्रिय द्रूतमार्ग नामाकरण गरेको हो। यस्तै सुर्खेत–दैलेख–जुम्ला हुँदै मुगुको नाक्चे नाग्ला र सुर्खेत–जाजरकोट हुँदै डोल्पासँग सीमा जोडिएको धो नाकासम्म सडक विस्तार र त्यहाँका नाका खोल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। यि तीन वटै सडकलाई राष्ट्रिय गौरवका योजनामा समेट्न प्रदेश सरकारले प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ। मन्त्रिपरिषद् बैठकले कर्णालीको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र यहाँका संभावनालाई उजागर गर्ने उद्देश्यले ‘कर्णाली पर्यटन प्राधिकरण’ गठन गर्ने निर्णय पनि गरेको छ। ‘कर्णालीको समृद्धिको प्रमुख आधार पर्यटन भएकाले पर्यटकीय क्षेत्रको भौतिक संरचना निर्माण, प्रचार–प्रसारलगायतका कामहरु गर्ने उद्देश्यले प्राधिकरण गठन गर्ने निर्णय गरेका हौं’ सरकारका प्रवक्ता विमला केसीले भनिन्, ‘यसमा प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ।’ बैठकले दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान र उत्सनन्का साथै कर्णालीमा छरिएर रहेका बस्तीलाई समेट्नका लागि एकीकृत बस्ती निर्माण गर्ने निर्णय पनि गरेको छ।

प्रदेश बनाउनेतर्फ लाग्नुहोस्ः प्रधानमन्त्री

कर्णाली प्रदेशको चौथो मन्त्रिपरिषद बैठकको प्रमुख अतिथि बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बन्नेतर्फ नभई प्रदेश बनाउनेतर्फ लाग्न मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई निर्देशन दिएका छन्। उनले कर्णाली प्रदेश संभावनाको खानी भएको भन्दै देशको समृद्धि र विकासको ढोका पनि कर्णालीले खोल्नुपर्ने बताए । उनले संघीय सरकार कर्णालीको विकास र समृद्धिका लागि आवश्यक सबै सहयोग गर्न तयार रहेको पनि बताए। आफू बन्ने नभई कर्णाली प्रदेशलाई कसरी समृद्धि र विकासको मार्गमा डो¥याउने भन्ने बारेमा सोच्नुहोस्’ प्रधानमन्त्रीकोको भनाई उदृत गर्दै सामाजिक विकास मन्त्री दल रावलले भने, ‘केन्द्र सरकारका तर्फबाट हुने सबै सहयोग गर्न म तयार छु ।’ प्रधानमन्त्री ओलीले बैठकमा कर्णाली पर्यटन, खनिज, जलस्रोत, जडिबुटी र पेट्रोलियम पदार्थको खानी रहेको भन्दै यसको उपयोग गर्ने बेला आएको बताएका थिए।

पर्यटन वर्षको तयारी पूरा

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनको तयारी पूरा भएको छ । मुगुको रारातालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर बैशाख एक गते (आज) कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्ने छन् । प्रधानमन्त्री ओलीले राराबाटै देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । पर्यटन वर्षको उद्घाटनका लागि प्रधानमन्त्री ओली शुक्रबार विहान काठमाडौंबाट बाग्लुङको ढोरपाटन हुँदै रारा पुगेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार