सगरमाथा आरोहणका लागि क्याम्प खुला……….

०४ बैशाख २०७५,  सोलुखुम्बु – सगरमाथा आरोहणका लागि क्याम्प दुईसम्मको बाटो निर्माण भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो। गत चैत्र १८ देखि निर्माण सुरु गरेका समूहले (अप्रिल ११) अर्थात गत शुक्रबार क्याम्प दुईसम्मको बाटो बनाउने काम सकेको आईसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए। शेर्पाले भने, ‘सगरमाथा आरोहणमा जान प्रयोग गरिने क्याम्प दुईसम्मको बाटो त निर्माण गरियो तर सगरमाथा आधार शिविरको बाटो निर्माण गर्ने काम भने निक्कै चुनौतीपूर्ण थियो।’ शेर्पाका अनुसार क्याम्प दुईसम्म ११ स्थानमा भर्याङ राख्ने र अन्य क्षेत्रहरुमा डोरी समेत टागिएको छ। आईसफल डाक्टर आङकामी शेर्पाको नेतृत्वमा आठ जनाको समूहले सगरमाथा अरोहणको लागी बाटो निर्माण गरेका हुन्। आधार शिविरदेखि क्याम्प एक र क्याम्प दुईसम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का आइसफल डाक्टरको समूहले निर्माण गरेका हुन्। एसपीसीसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प–२ सम्म बाटो निर्माण गर्दै आएको छ। बाटो निर्माण गर्ने आईफल डक्टरको टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्‍याङको व्यवस्थापन गरेको छ। यो सँगै सगरमाथा चढ्नेहरुका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरहरुको सहयोगमा भत्किएका बाटो पुनर्निर्माण गरिएको हो । हिमपातका कारण भत्किएका बाटो बनाउनुको साथै आरोहणको क्रममा प्रयोग हुने डोरी र भर्याङको समेत व्यवस्था मिलाईएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए। सगरमाथा आरोहणका लागी एकै स्थानमा दुईदेखि तीन वटासम्म भर्याङ जोड्नुपर्ने हुन्छ। लामा विधिद्वारा पूजापाठ गरेसँगै औपचारीक रुपमा बाटो बनाउने काम सुरु गरीएको थियो। अहिले आरोहीहरु धमाधम क्याम्प १ हुँदै दुईतर्फ लागिरहेका छन् भने आधार शिविर आउने क्रम पनि जारी छ। केहि पर्यटकहरु आरोहणको तयारी गरीरहेका छन्। अब क्याम्प दुई हुँदै चुचुरो जाने बाटो निर्माण गरीने छ। आगामी बिहिबारदेखि क्याम्प दुई हुँदै चुचुरो जाने बाटो निर्माण गरीने छ। चुचुरोसम्म जाने बाटो निर्माणको जिम्मा हिमालयन गाईड कम्पनीले लिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार