तस्करीको सुनमा फाइदैफाइदा………

बैशाख ८, २०७५  काठमाडौँ । कमजोर सुरक्षा संयन्त्रलाई भद्दा मजाक गर्ने एकजना कुख्यात् अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले भनेका हुन् यी वाक्य । विभिन्न देशमा जेलसमेत ‘ब्रेक’ गरे भागेपनि नेपाल प्रहरीको नजरबाट उम्कन नसकेपछि वयोवृद्ध उमेरमा शोभराज नेपालको केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । नेपालको विमानस्थलबाट हात्ती छिर्ला या नछिर्ला, त्यो दोस्रो पाटो भयो, तर विभिन्न तस्करी र अपराधका घटनाले नेपालको विमानस्थल तस्करहरुका लागि सहज भूमि रहेको भने स्पष्टै देखिएको छ ।

विमानस्थलबाटै भित्रन्छ तस्करीको अधिकांश सुन, यस्ता छन् तस्करीका श्रृङ्खला

झण्डै ३० वर्षअघि सुर्खेतबाट निर्वाचित तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २२ किलो सुनसहित पक्राउ परे । बुढाले चुनाव खर्चका निम्ति हङकङबाट सुन ल्याइएको बताएका थिए । भीआइपीको नाममा अवैध धन्दा र तस्करी गर्न खोज्दा पञ्चायतका सदस्य नै पक्राउ परे । विमानस्थलबाट ल्याइएको तस्करीको पहिलो सुनकाण्ड सायद यही थियो, जसमा नेपाल प्रहरीलाई सफलता मिलेको थियो । २०४४ सालमा तत्कालीन अधिराजकुमार धीरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डिबी लामा सुन तस्करीको अभियोगमा पक्राउ परे । गुरुङले बयानमा सुन तस्करीमा ठूलाबडाको संलग्नता भएको बताएका थिए । तर ती ठूलाबडा को थिए भनेर गुरुङले खुलासा गरेनन् । यद्यपि उनको वाण राजपरिवारका सदस्य र राणा खानदानतिर तेस्रिएको थियो । त्यतिबेलाको बयानमा गुरुङले भनेका थिए, ‘भिआइपी र भरियामार्फत् एक क्वीन्टल सुन भित्राएको छु । त्यसो त सुन तस्करीमा नेपाली नागरिकको मात्रै संलग्नता छैन । यसमा विदेशी नागरिकहरु पनि संलग्न रहेको तथ्यांक छ । २०५४ सालमा कोरियन नागरिक जो कुन ह्वा र युन सोङ तस्करीको १ सय किलो सुनसहित पक्राउ परे । २०५४ मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं छिराउन खोजिएको ठूलो परिमाणको सुनले त्यतिबेला ज्यादै हल्लाखल्ला मच्चायो । १६ महिना पहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद भयो । २०७३ साल पुस २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिर निस्कने गोल्डेन गेटबाट बाहिर ल्याउँदै गरेको सुन बरामद गर्न सफल भयो । एयर अरेबियाको विमानबाट काठमाडौँ ल्याइएको सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै थियो । २०५४ पछि ठूलो मात्रामा सुन बरामद गरिएको यो नयाँ घटना थियो । सुनको आयात गर्न कुनै व्यक्ति वा संस्थाले पाउँदैन, यसमा राज्यले प्रत्यक्ष निगरानी गर्छ र खरिद तथा विक्री गर्छ । सरकारले नेपाल राष्ट्र बैंकलाई सुन ल्याउने अनुमति दिन्छ । राष्ट्र बैंकले पालैपालो विभिन्न बैंकलाई सुन ल्याएर बेच्ने अनुमति दिन्छ र २३ हजार सुन व्यवसायीले दैनिक २० किलोग्रामका दरले सुन पाउँछन् । यद्यपि नेपाली सुन बजारमा दैनिक सरदर ४० किलो सुन माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले दाबी गर्ने गरेको छ । सरकारले २०७३ सालको असार मसान्तसम्म प्रतिदिन १५ किलो सुन दिने गरेको थियो । तर, १५ किलो सुनले नपुगेको भन्दै विरोध भएपछि सरकारले २०७३ को साउनदेखि दैनिक २० किलो सुन दिन थालेको छ । तर सुन व्यवसायीहरु भने २० किलो सुनले पनि नपुग्ने र विवाह तथा अन्य चाडबाडमा दैनिक ५० किलोसम्म सुनको माग भएको भन्दै आपूर्ति बढाउन माग गरिरहेको छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य भन्छन्, ‘सरदरमा प्रतिदिन ४० किलो सुन चाहिन्छ ।

यसकारण भइरहेछ सुन तस्करी

माग र आपूर्तिको सन्तुलन नमिलेकै कारण सुन तस्करी भएको होइन । राष्ट्र बैंकको कोटाअनुसार वाणिज्य बैंकहरुले संयुक्त अरब इमिरेट्स् अर्थात् युएईको दुबई शहरबाट सुन खरिद गर्छन् । किनभने छिमेकी देश चीनमा भन्दा पनि दुबईमा सुन सस्तो पाइन्छ । नेपाल सरकारको नीतिअनुसार हवाई मार्गबाट मात्रै सुन आयात गर्न पाइन्छ । र, सरकारको नीतिअनुसार सुनको मूल्य जति भए पनि अहिले प्रतिकिलो ४ लाख २० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ । अर्थात् प्रति १० ग्राममा ४ हजार २ सय रुपैयाँ राजश्व दाखिला गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार