सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ………

 ११ बैशाख २०७५,  काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको चरणमा रहेको र यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल रिपब्लिक मिडियाको दशौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्र नेपाललाई विकासशील देशमा रुपान्तरण गर्ने योजना सुनाउँदै यसमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए। ‘यतिबेला हाम्रो देश नै मिसनमा छ, विकास र परिवर्तनको मिसनमा। यो विकासको चरण हो। यसमा मिडियाको सहयोग महत्वपूर्ण हुनेछ।’ उनले हामीले ३ वर्षभित्र विकासशील देशमा स्तरोन्नती र सन २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न नसके नेपाल भावी पुस्ताका लागि पनि पछौटे नै भइराख्ने बताए। ‘यो विषयलाई हामीले गम्भीर रुपमा लिएनौं भने देशको असफलता हुन्छ, भावी पुस्ताको असफलता हुन्छ, गरिब नेपाल, पछौटे नेपाल, विदेशका लागि सस्तो श्रमिक उत्पादन गर्ने देश, स्रोत भएको तर प्रयोग गर्न नसकेको देश नै रहन्छ,’ ओलीले भने, ‘त्यसैले सम्पूर्णको एकएक प्रयासले यो सम्भव छ। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विषयवस्तुहरुलाई पनि विविधिकरण गर्न सुझाव दिए। ‘आजको सञ्चारले विकास र यसका निम्ति हामी जब विकासमा आफ्ना प्रयासलाई स्थपित गर्दैछौं भने एकपक्षीय नहोस्, अलिकति स्थान कृषिका लागि होस, कृषिमा के भइरहेको छ, के लाभ भयो, के उपलब्धि हासिल गर्यो भन्ने कुरा आओस्, अलिकति पर्यटन, अलिकति विज्ञान प्रविधि, कम्युनिकेशन तथा साझा उपलब्धिलाई ठाउँ दिइयोस’, उनले भने। उनले राजनीतिक परिवर्तनको पछिल्लो अन्तिम ५ वर्ष फाइनल चरणको भएको र अब नयाँ चरणमा प्रवेश गरेको बताए। ‘विस ७० यताको यो ५ वर्षको अवधि चाँही लामो अभ्यासको अन्तिम फाइनल खेलजस्तो रह्यो। संविधान बनायौ, निर्वाचन सम्पन्न गर्यौ, अब हामी अर्को चरणमा प्रवेश गरेका छौं। यी वितेका ५ वर्षहरु एक ढंगले भन्ने हो भने गेम चञ्जिङ्ग हो। पोलिटिकलबाट डेभलमेन्टतिर देश गयो। परस्पर नेपाल ह्याप्पी नेपालको नारामा देश अघि बढ्यो।’ प्रधानमन्त्री ओलीले सरकारको यो अभियानमा मिडिया क्षेत्रले बहुतै योगदान गर्नेछ भन्ने विश्वास लिएको बताए। नेपाली सञ्चार नेपाली जनताका लागि हुनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले नेपाल रिपब्लिक मिडिया ९ वर्ष पूरा गरेर १०औं वर्षमा प्रवेश गरेकोमा सफलताको निम्ति बधाई दिए। उनले आगामी दिनमा अझै लोकप्रिय भरपर्दो रुपमा स्थापित सञ्चारमाध्यमतर्फ उभ्याउनसकोस भनी शुभकामना दिए। नेपाल अध्यारो समयबाट आजको अवस्था (लोकतन्त्र गणतन्त्र)सम्म आइपुगेको भन्दै ओलीले भने, ‘आजका प्रयासहरु हिजोभन्दा फरक कोणमा मोडिएका छन्। हिजो सबै कुरामा प्रतिबन्ध थियो, अधिकार भन्ने कुरामा प्रतिबन्ध थियो। आन्दोलनले विस्तारै समयक्रममा परिवर्तन ल्यायो। स्कुल कलेज खोल्न पाइँदैनथ्यो। पछिल्लो समय नेपाल अध्यारो समयबाट आजको अवस्थासम्म आइपुगेको छ। भनेजस्तो नहोला, विकसित देशमा हुँदैन, हामी त भर्खर राजनीतिक क्रान्ति पार गर्दैछौं। कतै कतै अझै सञ्चार पुग्न सकेको छैन भने कही कही अनियन्त्रीत बन्न पुग्यो कि भन्ने गुनासो छ। अधिकार थियो अवसर छैन, अधिकार भएको ठाउँमा दुरुपयोग धेरै देखियो। यो ग्यापलाई पुर्नुपर्छ। नपुगेको ठाउँमा पुर्याउनुपर्छ।’ राजनीतिक क्रान्तिबाट आएको आजको परिवर्तनले बेरोजगारीलाई रोगजारी दिनुपर्ने, आम्दानी नभएकामा आम्दानी हुनुपर्ने, खानेलाउने नभएकालाई खानेलाउने व्यवस्था हुनुपर्ने उनको भनाई थियो। ‘शिक्षाबाट कोही वञ्चित हुनुहुँदैन्,स्वास्थ सबैले पाउनुपर्छ, आवश्यक बाटो बन्नुपर्छ, अब नेपालभरी नै झल्ल वत्ती बल्छ, संसारभरी जे भइरहेछ, काठमाडौं सोशल मिडियाबाट जे भइरहेको त्यो डोल्पा, हुम्लाजस्ता दुर्गम ठाउँका बासिन्दाको हुनुपर्छ।’ प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि मान्छेभन्दा दृढ विश्वास भए पुग्ने बताए। ‘योगी (शिशिर)को एउटा गीत छ म मानिस खोजिरहेको छु। सबैले भन्छन् म मानिस खोजिरहेको छु। हाम्रो पार्टीका नेता माधव नेपालले पनि एकपटक योगीको गीत उच्चारण गर्दै म मानिस खोजिरहेको छु भन्नुभयो। तर म चाँही खोजिरहेको छैन, भेटिरहेको छु। गर्नेलाई साथमा लिएको छु। गर्दैनन भने बेग्लै कुरा हो। नेपाल सुन्दर बनाउने यदि तपाई खोज्दै हुनुहुन्छ भने म देखाइदिन्छु। दायाँ हेर्नुस, बायाँ हेर्नुस त्यही छ, पछाडी अगाडि हेर्नुस् त्यहाँ छ। देश बनाउने मान्छे तपाईको छेउमा छ। तपाईले आफूलाई विश्वास गर्नुस्। तपाई नै देश बनाउने मान्छे हो। त्यसकारण म मान्छे खोजिरहेछु होइन, म देश बनाउन उठिरहेको छु भन्नुस’, उनले भने। उनले आफैप्रति अविश्वास र निराश नहुन आग्रह गरे। ‘आज हामीले निराशा, आंशका र आफैप्रति अविश्वास गर्ने होइन। अब नागरिक लिएर उठ, रिपब्लिका लिएर उठ हामी सक्छौं। हामीमा आत्मविश्वास हुनुपर्छ। केही केहीले पत्याएन भने जनताले पत्याउछन, देश बनाउँछौ, बनाइन्छ।’ कार्यक्रममा मिडियाकी निर्देशक समृद्धि ज्ञवालीले मल्टिमिडिया र खोजमुलक पत्रकारितामा जोड दिएको बताइन्। उनले वैशाख ३१ देखि डिजिटल स्टुडियो मार्फत ‘नागरिक नेटवर्क’ को प्रशारण सुरु हुने घोषणा गरिन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार