स्थानीय स्तरबाट एकीकृत बस्ती ठड्याउँदै पीडित………

 २४ बैशाख २०७५,   ठूलोसिरुवारी (सिन्धुपाल्चोक)- भूकम्पले खण्डहर बनाएको बस्ती ठड्याउँदै ‘सहरोन्मुख’ गाउँमा बदल्न ठूलोसिरुवारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्। पुनर्निर्माणका लागि सरकारले दिने अनुदानलाई एकीकृत रुपमा परिचालन गर्दै उनीहरु ४७ घरधुरीको नमूना बस्ती बसाल्न जुटिरहेका हुन् । ५० हजार रुपैयाँ दरले निकासा भएको अनुदानको पहिलो किस्ता एउटै कोषमा जम्मा गरेर गाउँले गएको असोजदेखि बोजिनी एकीकृत नमूना बस्ती निर्माण थालेका थिए। पीडित सम्मिलित सीमाका सामुदायिक पुनर्निर्माण समिति गठन गरेर पुनर्निर्माणमा कस्सिएका गाउँलेले एकीकृत बस्ती विकास तीव्र बनाइरहेका छन् । ‘असारभित्रै एकीकृत बस्तीले अन्तिम रुप पाउँदै छ,’ पुनर्निर्माण समितिका उपाध्यक्ष तोकबहादुर श्रेष्ठले भने । उनका अनुसार निर्माण अन्तिम चरणमा पुगेका २८ घरको छाना छाइसकिएको छ भने बाँकी १९ घरको भूँई तह संरचना (डिपिसी) तयार भइसकेको छ। लोडबियरिङ’ संरचनाका एकै डिजाइनका घर, निलो जस्तापाता र एउटै रंगरोगनसहितको साजसज्जा बस्तीको प्रमुख विशेषता रहने उपाध्यक्ष तोकबहादुर बताउँछन्। ‘परिवार सदस्यको आधारमा घरका आकार भने केही साना–ठूला छन्,’ बस्ती पुनर्निर्माणको रेखदेख गर्दै गर्दा भेटिएका उनले भने। समितिका अनुसार गाउँमा अनुदान पाउने लाभग्राहीको संख्या भने ३६ परिवार मात्र छ । ११ परिवारले लाभग्राहीमा समेटिन गुनासो भरेका छन् । गुनासो फछ्योट नहुँदा उनीहरु अझै अनुदानबाट बञ्चित छन् । तर लाभग्राहीमा नसमेटिए पनि उनीहरुको समेत घर पुनर्निर्माण भइरहेको छ । ५० हजार दरले प्राप्त पहिलो किस्ताको १८ लाख रुपैयाँ एउटै कोषमा जम्मा भएपछि गाउँलेले बस्ती निर्माण थालेका थिए। दोस्रो किस्तासमेत एउटै कोषबाट बस्ती निर्माण ७२ लाख रुपैयाँ परिचालन भइसकेको समितिले जनाएको छ। ‘हालसम्म डेढ करोड रुपैयाँ लगानी भइसकेको छ,’ उपाध्यक्ष तोकबहादुर भन्छन्, ‘अनुदानबाहेकको लागत परिवार–परिवारबाट जुटाएका हौँ ।’ बस्ती विकासपछि घरका आकार अनुसार भएको लगानी सम्वन्धित पीडितले बेहोर्ने उनले जानकारी दिए। बस्तीमा नेवार समुदायको मात्र बसोबास छ । पीडितका घर भने आ–आफ्नै जग्गामा बनिरहेका हुन् । ‘एकै ठाउँमा झुम्म गाउँ रहेकाले खानेपानी, शौचालय, बिजुली, सडक लगायत विकासका न्यूनतम पूर्वाधार विकासमा पहूँच स्थापित गर्न गाउँ सल्लाहमै एकीकृत बस्ती बसाल्ने निर्णयमा पुगेका हौँ’, अभियन्ता धनबहादुर श्रेष्ठले भने। आलोपालोमा कामदार परिचालन, निर्माण सामग्री ढुवानी समितिले एकद्धार नीतिअनुरुप गरिरहेको छ। यसो गर्दा ढुवानी र निर्माण सामग्री नै सस्तो पर्न गएको उनले बताए। पानी समस्याले भने पुनर्निर्माणमा ढिलाई भइरहेको स्थानीयको गुनासो । समितिले पानी समस्याकै कारण दैनिक २८ को संख्यामा परिचालन हुने कामदार १० मा झारेको छ । दुई समूहमा बिभाजन गरेर उनीहरुलाई पुनर्निर्माणमा खटाइएको छ । ११ परिवारले घरमा चोटा थपेका छन् । अधिकांश भूईँतले छन् । चोटे र भूँईतले घर उस्तै देखिन्छन्। गाउँलेको एकीकृत बस्ती सपनामा वडा कार्यालयले हौसला थपिरहेको छ । बस्ती बनिरहेको चौतारा–साँगाचोकगढी नगरपालिका–१३ नम्बर वडाको आग्रहमा जाइकाले प्राविधिक सहयोग गरिरहेको छ । वडा कार्यालयले नै संरचनामा एकरुपता ल्याउन घरका ‘डिजाइन’ बनाएको थियो । बस्तीको सडक, खानेपानी, सामुदायिक भवन, खेल मैदान लगायत पूर्वाधार विकासको गुरुयोजना वडा कार्यालयकै अगुवाइमा बनेको छ,’ वडाध्यक्ष रामप्रसाद गौतमले भने । उनका अनुसार नगरपालिकाले बस्तीमा खानेपानी व्यवस्थापनका लागि ३ लाख र रंगरोगनका लागि २ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्तीमा आकर्षण बढाउन त्यस्तो स्थानको पूर्वाधार विकासमा सघाउने नीति लिएको बताउँदै उनले भने, ‘यो बस्तीको पूर्वाधारमा सघाउन प्राधिकरणसँग पहल थालिसकेका छौँ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार