मुस्ताङमा बाक्लो हिमपात……..

२८ बैशाख २०७५,   पोखरा/मुस्ताङ – हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। चढ्दो गर्मीका बेला भएको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ। हिमाली जिल्ला मुुस्ताङका उच्च क्षेत्र हिउँले सेताम्य भएका छन्। मनाङको माथिल्लो क्षेत्रमा पनि हिउँ परेको छ। बुधबार मध्यरातदेखि मुस्ताङ सदरमुकाम जोमसोमसहित आसपासका डाँडाकाँडामा हिउँ पर्न थालेको थियो। सदरमुकाम क्षेत्रमा दिउँसो रोकिए पनि माथिल्लो क्षेत्रमा भने हिउँ परिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालयका संरक्षण अधिकृत तुलसी दाहालले बताए। दाहालका अनुुसार बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे, घरपझोङ, थासाङ गाउँपालिकाका उच्च भेगमा हिमपात भएको छ। ‘चार इन्चसम्म बाक्लो हिमपात भएको छ,’ दाहालले भने, ‘जोमसोममा अलि पातलो हिउँ प-यो। तर, माथिल्लो भेगमा त बाक्लो छ।’ दाहालका अनुसार वैशाख अन्तिममा हिउँ परेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन्। ‘म अहिले लोमान्थाङ जाँदैछु, यहाँबाट चारैतिर हेर्दा सेताम्य देखिन्छ। फुसफुस हिउँ परिरहेको छ,’ उनले बिहीबार अपराह्न नागरिकसँग भने। उनका अनुसार यतिबेला परेको हिउँले कृषि क्षेत्रमा खासै अर्थ राख्दैन। त्यसैले किसान पनि उतिसारो खुसी छैनन्। ‘पुसमा हिउँ पर्दा खेतीपातीमा सिँचाइको काम गर्दथ्यो। तर, अहिले परेको हिउँ किसानका लागि उपयोगी छैन,’ दाहालले भने, ‘विदेशी पर्यटक भने रमाएका छन्।’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले सदरमुकाम जोमसोमका आसपासका क्षेत्रमा हिउँ परेको बताए। उनका अनुसार बिहीबार साँझसम्म जोमसोम आसपासका डाँडा सेतै छन्। हिमपातसँगै सदरमुकाम र आसपासका क्षेत्रमा चिसो बढेको छ। पौडेलका अनुसार हिमपात भए पनि सडक र हवाई यातायात अवरुद्ध भएको छैन। ‘मुक्तिनाथ क्षेत्र सेतै छ, घाम लागैको छैन,’ उनले भने, ‘जोमसोममा पानी परेकोले चिसो बढेको छ। थासाङ–३ धम्पुका महेन्द्र गौचनले पुसमाघमा पर्नुपर्ने हिउँ वैशाख अन्तिममा पर्दा आफूहरु आश्चर्यमा परेको बताए। ‘यतिखेर हिउँ पर्ने सिजन होइन। तर अचानक हिमपात हुँदा हामीलाई अचम्म लागेको छ,’ उनले भने। हिमपातले मुख्य बालीलाई क्षणिक फाइदा पु-याए पनि मुस्ताङको गहनाका रुपमा रहेको स्याउ बालीलाई भने असर पर्नसक्ने उनले बताए। थासाङ–३ कालोपानीका बिपी गौचनले हिमपातले स्याउखेतीलाई असर गर्ने सम्भावना रहेको बताए। ‘भर्खरै स्याउको फूल झरेर फल लाग्न सुरु गरेकोले स्याउको दानामा दाग लाग्न सक्छ,’ उनले भने। घरपझोङ–१ छैरोका सिंहराज लामाले वैशाख अन्तिममा हिउँ पर्नु आफ्ना लागि नौलो अनुभव भएको बताए। ‘मौसम परिवर्तनकै कारण यो अवस्था आएको हुन सक्छ,’ उनले भने। उनका अनुसार विशेष गरी यतिबेला परेको हिउँले यार्सागुम्बा टिप्न जाने मानिस बढी प्रभािवत हुन्छन्। हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार अहिले हिमपातको सिजन होइन। तर प्रि–मनसुनको समय भएकाले उच्च हिमाली भेगमा हल्काफुल्का हिउँ पर्ने सम्भावना रहन्छ। ‘अहिले हिउँ पर्ने सिजन त होइन । तर, हिमाली क्षेत्रमा पानी परेपछि हिउँ पर्न सक्छ,’ उनले भने। मनाङमा पनि माथिल्लो क्षेत्रमा हिमपात भएको त्यहाँका प्रहरी प्रमुख डिएसपी श्याम अधिकारीले बताए। ‘डाँडाकाँडामा हिमपात भएको छ। मौसम चिसो छ। थोराङला पदमार्ग क्षेत्रमा भने अलि बाक्लो हिमपात भएको छ,’ उनले भने। अधिकारीका अनुसार हुम्दे, मनाङ, खाङसारमा बढी हिउँ परेको छ। ‘हिमपात भए पनि पदयात्रा रोकिएको छैन,’ उनले भने, ‘पर्यटकको चहलपहल राम्रै छ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार धार्मिक क्षेत्र मुस्ताङको मुक्तिनाथ दर्शन गर्न जाँदैछन्। मोदीको स्वागतार्थ भव्य रुपमा तयारी भइरहँदा हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ। मोदी शनिबार बिहान ९ बजे मुक्तिनाथ पुग्ने तालिका छ। मोदीको भ्रमणको पूर्वसन्ध्यामा हिमपात हुँदा भ्रमण प्रभावित हुने पो हो कि भन्नेमा स्थानीय चिन्तित छन्। तर हावापानी कार्यालयले भने शनिबार जोमसोम र मुक्तिनाथ क्षेत्रमा सामान्य बादल मात्र लाग्ने अनुमान गरेको छ।  शुक्रबार पानी पर्ने सम्भावना छ। शुक्रबारको पानीले हिमपात पनि हुनसक्छ,’ हावापानी कार्यालय पोखराका प्रमुख ढकालले भने, ‘हिमपातले चिसो भने बढ्न सक्छ।’ उनका अनुसार शनिबार बिहान मौसम खुल्नेछ। ‘मुक्तिनाथ क्षेत्रमा शनिबार मौसम खुला हुनेछ,’ उनले भने, ‘मोदीको भ्रमणमा कुनै अप्ठेरो पर्दैन।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार