संयुक्त पत्रकार सम्मेलन………

बैशाख २९, २०७५  काठमाडौँ । नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् । दुई नेताको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पञ्चेश्वर आयोजनालाई शीघ्र अगाडि बढाइने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । केही दिन पहिले सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काम आगामी छ महिनाभित्र सम्पन्न गर्ने सहमति गरेको छ । सो सहमतिअनुसार डिपिआरलाई अन्तिम रुप दिने र आयोजना शुरु गर्ने विषयमा छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो आयोजनाको डिपिआर तयार गर्ने कार्य जारी छ । आगामी केही महिनाभित्रै डिपिआर सम्पन्न गरेर आयोजनाको निर्माण गरिने प्रतिबद्धता दुवै प्रधानमन्त्रीले जनाए । यस्तै बुटवल– गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माणलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो प्रसारण लाइन नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको अघिल्लो महिनाबीच सम्पन्न बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको वित्तीय स्रोत व्यवस्थापन र प्रारूपबारे सहमति जुटाएको थियो । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले त्यसबारे थप अध्ययन गरी तीन महिनामा विस्तृत प्रतिवेदन बुझाउने सहमति सो बैठकमा भएको थियो । यस्तै विद्युत् खरीद बिक्रीलाई सहज बनाउने र इनर्जी बैंकिङ अवधारणामा समेत सोही विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीको गत चैत २३ देखि २५ गतेसम्म भएको भारत भ्रमणमा समेत सो विषयमा छलफल भएको थियो । एक सय ३० किलोमिटर लामो बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कालीगण्डकी करिडोर र बूढीगण्डकीलगायत आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यातका लागि समेत मार्गप्रशस्त हुनेछ । यसअघि निर्माण भएको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले हाल १४० मेगावाट विद्युत् आयात गरिरहेको छ । यस्तै इनर्जी बैंकिङलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको र त्यसमा भारतका प्रधानमन्त्रीले सहमति जनाउनुभएको प्रधानमन्त्री ओलीले जानकारी दिए । माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण भएपछि वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउने र नेपाललाई आवश्यक परेको समयमा आयात गर्ने इनर्जी बैंकिङ प्रभावकारी अवधारणा हो । नेपालमा वर्षाको समयमा बढी विद्युत् उत्पादन हुने र भारतमा सोही समयमा नै बढी विद्युत् माग हुने भएकाले इनर्जी बैंकिङ नेपालका लागि महत्वपूर्ण रहने प्राधिकरणको भनाइ छ । इनर्जी बैंकिङ एउटा व्यावसायिक अवधारणा भएकाले त्यसले ऊर्जाको माग बढी हुने समयमा नेपालको हितमा प्रयोग गर्न सकिने विश्वास लिइएको छ । प्रधानमन्त्री ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण छलफल भएको र त्यसबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री मोदीले भारतको जलसाधन तथा ऊर्जा मन्त्रालयले आज नयाँ अध्याय थपेको उल्लेख गरे । उनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गर्नुभयो । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्ने सो आयोजना सम्झौता भएको पाँच वर्षपछि शिलान्यास भएको हो । नेपालले अगाडि बढाउने ठूला परियोजनामा साथ दिने उनको प्रतिबद्धता थियो । त्यस्ता आयोजनाबाट नेपालमा रोजगारीको अवसर वृद्धि हुने र आर्थिक तथा व्यावसायिक अवसरमा समेत वृद्धि हुने विश्वास उनले व्यक्त गरे । यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ र सहयोग रहने बताए। आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेको उल्लेख गर्दै उनले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गरे । नेपाल र भारतबीचको सम्बन्ध सरकारभन्दा माथि रहेको चर्चा गर्दै प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध जनस्तरमा गहिरो र मित्रतापूर्ण रहेको चर्चा गरे । उनले भने, “मेरो नेपाल यात्रा एक यस्तो ऐतिहासिक समयमा भएको छ जतिखेर नेपालमा तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएका छन्, नेपालको इतिहासमा यो काल स्वर्णीम अक्षरले लेखिनेछ ।” आफू प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै उनले यसबाट नै आफ्नो र भारतसँगको नेपाल सम्बन्ध कति गहिरो छ भन्ने पुष्टि भएको उल्लेख गरे । प्रधानमन्त्री मोदीले विकास यात्रा र राष्ट्र निर्माणका लागि प्रधानमन्त्री ओलीको नेतृत्व भरोसा प्राप्त भएकामा शुभकामना व्यक्त गरे । प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला दुई देशको विकासको सम्भावनाका बारेमा प्रशस्त छलफल भएको बताउँदै उनले छोटो समयमा नै नेपाल र भारतबीचमा विभिन्न मुद्दामा छलफल भई कतिपय मुद्दामा कामसमेत भएको बताए । उनले भने, “दुई देशबीचमा भएका कृषि, रेल र जलमार्गमा काम अघि बढाउन शुरुआत भएको छ ।” यस सम्झौताले दुवै देशको जनताको व्यवसायमा अभिवृद्धि हुने उनको भनाइ थियो । प्रधानमन्त्री मोदीले भने, “नेपाल भूपरिवेष्ठित मुलुक होइन, बरु जमिन र जल यातायातले सम्पर्क सञ्जालले जोडियोस्, प्रधानमन्त्री ओलीको यस दृष्टिकोणलाई साकार बनाउन भारत हरसम्भव सहयोग गर्ने प्रतिबद्धता छ । नेपालको स्वास्थ्य क्षेत्रका सहयोगको नयाँ कदम उठाएको उल्लेख गर्दै उनले भक्तपुरको क्यान्सर अस्पतालमा बिरामीको उपचारका लागि रेडियो थेरापी मेसिन जडान गर्ने प्रतिबद्धता व्यक्त गरे । संखुवासभामा रहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको शिल्यान्यासले रोजगारका अवसरका साथै आर्थिक र व्यावसायिकता उत्पन्न हुने उनको भनाइ थियो । सो परियोजना आज शिलान्यास गरिएको छ । नेपाल र भारत आदिकालदेखि नै नदी र हिमालय पर्वतमालाले जोडिएको बताउँदै उनले वर्तमान समयमा आफूहरु रेलमार्ग, जलमार्ग, प्रशारण लाइन र पाइपलाइनले जोडिन अत्यधिक प्रयासरत छौँ भने । दुई देशको सिमाना खुला भएको र यसमा अवान्छित तत्वद्वारा दुरुपयोग हुन नदिने बताउँदै दुवै देशका प्रधानमन्त्री सिमानाको रक्षा र सुरक्षा मजबुत बनाउन प्रतिबद्ध रहेको बताए । दुवै देशको पर्यटन प्रवद्र्धनका लागि रामायण र बुद्ध परिपथलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले रामायण परिपथलाई जोड्न आजमात्रै काम अघि बढेको जानकारी गराए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार