देशको अर्थतन्त्र तस्करको हातमा………

३१ बैशाख २०७५,  पोखरा – गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व छल्ने माफिया, ठेकेदार र तस्करहरूले नै देशको अर्थतन्त्र चलाइरहेको उनले बताए। शनिबार पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले भने, ‘आर्थिक क्षेत्रका अनियमितता, भ्रष्टाचार, तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेरमात्रै मुलुकको विकास र समृद्धि हुन सक्छ।’ प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको आवश्यकता र जनताको जनादेश अनुसार नै विकास र समृद्धि गर्न विकासविरोधी तत्वहरूको नियन्त्रण र निस्तेज गरेर सरकार अगाडि बढ्ने जानकारी दिए। सुशासन, स्थायित्व र विकास नभएको कारण देशको विकास र समृद्धि हुन नसकेको टिप्पणी गर्दै गृहमन्त्री थापाले सुशासन कायम गर्न भ्रष्टाचार, सिन्डीकेट सहितका विकास विरोधी तत्वहरूको निर्मुल गरेर सरकार अगाडि बढ्ने जानकारी दिए । आइतबार भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले पनि तस्करीहरूको हैकम अन्त्य गने निष्कर्ष निकाले उनले जानकारी दिए । उनले भने, ‘समृद्धिको बाधक भनेको एकाधिकार प्रणाली हो, सडक मात्र होइन्, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि सिन्डिकेट छ, यसलाई जरैदेखि अन्त्य गर्नुपर्छ।’विकासको अर्को बाधक लागूपदार्थ रहेको उनले बताए । लागू पदार्थको करोबारले देशका कर्णधारहरूको भविष्य दलदलमा फस्दै गएको थापाले बताए । लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेको प्रदेश ४ को सुरक्षा गोष्ठीमा छलफल भएको थापाले बताए। लागू औषध कारोबारले धेरैको जीवन बर्वाद गरेको थापाको भनाइ थियो । थापाले मन्दिरको नियन्त्रण र व्यवस्थापन गर्न गृहमन्त्रालयले छिट्टै अभियान चलाउने बताएका छन् । नेपाल विकासको दृष्टिकोणमा धेरै पछाडि रहेको थापाले बताए । ‘पछाडि पर्नुको मुख्य कारण दरिद्रता र पछौटेपन हो । जसका कारण युवा जनशक्ति पलायन छन्,’ थापाले भने, ‘सुशासन र समृद्धिबिना यी युवा फर्काउन सम्भव छैन ।’ यस्तै विभिन्न प्रकारका सामाजिक हिंसा गर्नेलाई तत्कालै कारवाही गर्न निर्देशन दिइएको उनले जानकारी दिए । महिला हिंसा, बलात्कारदेखि, गुन्डागर्दी गर्ने सबैलाई सूची बनाएर कारवाही गरिने उनले बताए ।

सरकारले आपत्ति जनाइसक्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पहिलो दिन भारतीय जनता पार्टीका सांसद कृति आजादको विखण्डनकारी टिव्टप्रति सरकारले आपत्ति जनाएको थापाले बताए। मोदीको जनकपुर भ्रमणको क्रममा आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिएका थिए । गृहमन्त्री थापाले भने सरकारले कडा आपत्ति जनाएको प्रतिक्रिया दिए। स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोडिने उनले बताए। विभिन्न आवरणमा क्षेत्रीय तथा साम्प्रादायिक नारा दिएर हिंसा भड्काउने दृष्प्रयास भइरहेको छ’ उनले भने ‘संविधान विरोधी काम गर्ने र देश र विखन्डन गर्ने कसैलाई छुट छैन्, सरकारले त्यस्ता तत्वलाई समाप्त पार्नेछ।’ मोदीको नेपाल भ्रमणलाई उनले नयाँ सम्बन्धको कडी रहेको बताएका छन् । मोदीको नेपाल भ्रमणले दुई देश बीचका असमझदारी हट्ने र विकास निर्माणको ढोका खुल्ने उनले बताए। यस्तै, अर्को छिमेकी देश चीनसँग पनि सम्बन्ध सुधार गरेर अगाडि बढिने उनले जानकारी दिए । चीनले ल्याएको वन बेल्ड वन रोडको प्रस्ताव २१ औँ शताब्दीकै विकासको गुरुयोजना भएको बताउँदै उनले यसमा नेपालले हस्ताक्षर समेत गरिसकेको जानकारी दिए। चीनसँग थप सम्बन्ध विस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने र चिनियाँ राष्ट्रपतिले पनि नेपाल भ्रमणमा बोलाउने उनले जानकारी दिए। फरक, प्रसंगमा गृहमन्त्री बादलले बाम एकताको सबै आधार तय भएको र छिट्टै नै मिति तोकिने जानकारी दिए। ‘पार्टी एकताको पूर्वाधार तथा वैचारिक, राजनीतिक र संगठनात्मक आधार तय भईसकेको छ, हामी छिटै नै दुई पार्टी (एमाले र माओवादी केन्द्र) एकताको मिति घोषणा गर्नेछौँ।’ उनले भने, ‘यस एकताले मुलुककै ठूलो जनादेश प्राप्त ठूलो पार्टी निर्माण हुनेछ र मुलुकको विकास र समृद्धिलाई अगाडि बढाउनेछ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार